अमेरिकी चासोपछि संक्रमणकालीन न्यायमा प्रधानमन्त्रीको सक्रियता, विपक्षीसँग सहमतिको प्रयास


काठमाण्डु- संक्रमणकालीन न्यायमा भईरहेको बिलम्बप्रति अमेरिकाले चासो बढाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता फेरी बढाएका छन्। केही दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अमेरिकी सिनेटर क्रिस भान होलेनले संक्रमणकालीन न्यायबारे चासो राखेका थिए।

त्यसक्रममा ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको बताएका थिए।

हाल संसदमा विचाराधीन रहेको टीआरसी विधेयकमा सहमति जुटाउनका लागि संसदीय उपसिमति पनि गठन गरिएको छ । तर, प्रधानमन्त्रीले संक्रमणकालीन न्याय आफ्नै कार्याकालमा टुंग्याउने बताईरहेपनि राजनीतिक निकास भने निस्किएको छैन ।

त्यही क्रममा मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे कुराकानी गरेका छन्।

प्रचण्डले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा ओलीको सहयोग मागेका छन्। दुई नेताबीच भएको भेटमा प्रचण्डले टिआरसी टुंग्याउन एमालेको सहयोग आवश्यक रहेको बताएका हुन्।

जवाफमा अध्यक्ष ओलीले आफूहरुको असहयोग कहिल्यै पनि नरहेको बताए। संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने सन्दर्भमा खुला छलफल गर्न तयार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलको सहयोगमा मात्रै विधेयक अगाडि बढाउने चाहना रहेको बताएका हुन्। ओलीले भने प्रचण्डको आसन्न चीन भ्रमणबारे समेत जानकारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement