म मरेको क्षण


दिनेश खड्का

न्यूयार्क  – कोरोनाले विश्वभरी हाहाकार बनाईरहेको बेला अमेरिकामा पनि मार्च २० तारिखबाट कोरोना नियन्त्रणका लागि लकडाउन शुरु भयो । लकडाउन शुरु भएको पहिलो साढे दुई महिना अर्थात् अप्रिल, मे र जुनको पहिलो सातासम्म अमेरिकाको इपिसेन्टर मानिने न्यूयार्क शहर सुनसान बनेको थियो ।

स्थानीय सरकारले घरमै बस्न भनेर आदेश जारी गरेको थियो । त्यो आदेशलाई मानेर हो वा डरले गर्दा दक्षिण एशियाली राष्ट्रका मानिसहरु (खासगरि नेपाली, बंगाली, भारतीय र पाकिस्तानी) झ्याल समेत थुनेर कोठामा बसेका थिए । त्यसबाट हामी नेपालीहरु पनि अछुतो रहेनौं । न्यूयोर्कमा अप्रिल र मे महिनामा दैनिक करीब सातसय जनाको मृत्यु र १० हजारको संख्यामा संक्रमितका कारणले नागरिकहरु हतास र निरास देखिन्थे ।

तर अवस्था सँधै त्यस्तै रहेन । जुन महिनाको दोश्रो सातादेखि क्रमिक रुपले सुधार हुन थाल्यो । मानिसहरु बिस्तारै सामाजिक दुरी कायम राख्दै घुमफिर गर्न थाले । सरकारले गर्मी मौसममा खुला हुने समुन्द्र, ताल तथा पार्कहरुमा गएर गर्ने रमाईलो कार्यक्रमहरु आंशिक रुपले खुला गर्न थाल्यो ।

लकडाउनले गर्दा तीन महिना भन्दा बढि समयसम्म घरमा थुनिएर बसेका म लगायत केहि साथीहरु पनि जुलाईको पहिलो साता दुई दिने कार्यक्रम बनाएर न्यूयोर्क सिटीबाट ३—४ घन्टाको ड्राईभमा रहेको जर्ज लेकमा घुम्न निस्कियौं । गएको पहिलो दिन नै पानीमा कुदाईने मोटरसाईकल जस्तै ‘जेट स्की’ नामक साधन हाँक्ने भनेर गयौं तर हामी ढिलो पुगेकोले टिकट पाएनौं र होटलमा फर्कियौं । तालको वरिपरिको वातावरणले नेपालको पोखरामा रहेको फेवा तालको सम्झना दिलायो ।

त्यस रात होटलमा बिताएर भोलिपल्ट बिहान १० बजे आठ जना साथीहरु लेक जोर्जको उत्तर पश्चिमा अवस्थित चिक्स मरिना नामक वाटर स्पोर्ट सम्बन्धि सेवा प्रदान गर्ने अफिसमा जेट स्की गर्न गएका थियौं । जेट स्की पानीमा खेलिने साहसिक खेल मध्येमा पर्छ । हामी पुग्दा चिक्स मरिना भर्खरै खुलेको थियो । कामदारहरु शनिबारको ब्यस्त दिनको तयारीमा जुटीरहेका थिए । कोहि भित्रबाट सामानहरु बाहिर ल्याउँदै थिए भने कोही सानो–सानो पानी जहाजमा ईन्धन भरिरहेका थिए । काउन्टरमा काम गर्नेहरु काउन्टर मिलाउँदै थिए ।

हामी निकै उत्साहका साथ ति दृश्यहरु हेर्दै गफ गरिरहेका थियौं । हामी आठ जना मध्ये दुई जना साथीहरुले जेट स्की नगर्ने निर्णय गर्नुभयो (सायद डरले हुनुपर्छ) तर हामी बाँकी छ जनाले तिन वटा जेट स्कस् भाडामा लिई पालै–पालो हाक्ने सल्लाह गर्यौं ।

पानीमा खेलिने खेलमा पौडिन आउनु अनिवार्य जस्तै हुन्छ तर हामी छ जनामध्ये एक जनालाई मात्र राम्रोसंग पौडिन आउँथ्यो भने बाँकी ५ जनालाई अलि अलि मात्र आउँथ्यो । हामीले जेट स्की गर्ने ठाँउ ताल भएता पनि आकारमा ३ माईल र गहिराईमा ६० मिटर थियो ।

लगभग फेवा तालको तुलनामा पाँच गुणा ठुलो । उक्त तालमा पानीका बाफबाट चल्ने ठुला ठुला जहाजहरु पनि थिए, जसमा पर्यटकहरुलाई तालको वरिपरि शयर गराईन्थ्यो । उक्त जहाजहरुका कारण तालमा ठुला ठुला समुन्द्री छाल जस्तै भएको देख्न सकिन्थ्यो ।

हामी छ जनाको लागि नै यो खेल बिलकुल नयाँ थियो । जीवनमा यस अघि कहिल्यै नखेलेका कारण मनमा अलि–अलि डर पनि थियो ।

अघिल्लो दिन अरुले खेलेको र यूट्युबमा भिडियो हेर्दा पानीमा जेट स्की हाँक्ने काम सडकमा सामान्य रुपमा स्कुटर वा मोटरसाइकल चलाएको जस्तो हो भन्ने लागेकोले मनमा निकै उत्साह भरिएको थियो ।

करिब ४५ मिनटको पर्खाई पछि एकजना गोरे आएर हामीलाई सोध्यो ‘आर यु गाईज वैटिङ्ग फर जेट स्की ?’ उसले आफ्नो परिचय दिदै हाम्रो टिमको गाईड भएको बतायो । उसले हामीलाई एक–एक वटा लाईफ ज्याकेट लगाउन दिँदै जेट स्की गर्दा अपनाउनु पर्ने सामान्य नियमहरुको बारेमा बतायो । उसले कसरि जेट स्की स्टार्ट र बन्द गर्ने तरिका बताउन थाल्यो ।

हवाई जहाजमा चढ्दा उड्नु भन्दा अगाडी एयर होस्टेजले हवाई जहाज उड्नु पूर्ब, अवतरण गर्ने बेलामा र संकटको बेलामा अपनाउनु पर्ने साबधानीका कुराहरु बतायो, त्यसरिनै उसले पनि जेट स्की यात्रा गर्नु पूर्व र ओर्लने बेलामा अपनाउनु पर्ने कुराहरु बतायो । उसको अरु धेरै कुरामा सायदै हामीमध्ये कसैले पनि ध्यान दिएनौं होला । मात्र जेट स्कीको एक्सिलेटरको बारेमा सिक्यौं । जेट स्कीको एक्सिलेटर पुल गरे अगाडि बढ्ने र छोडिदिए रोकिने त्यति जाने सबै जानेजस्तो भयो हामीलाई । त्यसपछि हाम्रो प्रतिक्षाको घडि सकियो पानीमा तयारी पारेर राखेको जेट स्कीतिर लाग्यौं ।

सबै भन्दा अगाडिको जेट स्कीमा म र मेरो साथि उमेश बस्यौं र म अगाडी र उमेश पछाडी बस्यो र क्रमशः अरु साथीहरु पनि बस्दै गए । गाईडले जेट स्की स्टार्ट गर्न भन्यो र जेट स्की स्टार्ट गर्ने बित्तिकै जेट स्की अगाडि बढ्यो । पानीको छेउमा त निकै मज्जा लाग्यो, किनाराबाट तिन सय फिट जति टाढा पेुगेपछि सानो गतिमा आएको छालले हान्न थाले पछि भने अलि असहजिलो महसुश हुन थाल्यो ।

दुई सय फिटको दुरि मेनटेन गर्नूपर्ने भएकोले गर्दा वरिपरि कोही पनि थिएनन्, गाईड हामीभन्दा पाँच सय फिट जति टाढा पुगिसकेका थियो । छालले गर्दा हामी दुवैजनको मनमा अलि अलि डर पसिसकेको थियो । गाईडले टाढाबाट हातको ईशाराले छिटो आउन भन्दै थियो ।

हामी भने जेट स्किको एक्सिलेटर एउटै स्पिड मेनटेन गर्न पनि सकेका थिएनौं । जति–जति हामी पानीमा अगाडि बढ्न थाल्यौं त्यतिनै हामीमा डर बढ्दै गयो । अलि अगाडिको हाम्रो उत्साह डरमा परिणत भई सकेको थियो । दाँया–बाँया पछाडी हेर्न सक्ने हाम्रो अवस्था पनि थिएन । हावा चलेकोले गर्दा होला पानीमा निकै छाल आईरहेको थियो । साथी उमेशले मलाई पछाडिबाट बल गरेर समातिरहेको थियो । मानौं उ पानिमा खस्यो भने मलाई पनि पानीमा तान्ने उसको उद्धेश्य छ । पानीमा लगभग हजार पन्द्रसय फिट टाढा पुगेपछि त हाम्रो मुटुले ठाँउ छोड्यो, अगाडि बड्ने भन्दा पनि पछाडी फर्कन मन लाग्यो ।

उमेशले गाईडलाई ईशारा गरेर हामीलाई फर्काउन भनि ठुलो स्वरले करायौं तर गाईड निकै टाढा रहेकोले उसले हाम्रो कुरा बुझेन वा बुझेर पनि बुझ पचायो ।  अब हामीसंग अगाडि जानु बाहेक अरु बिकल्प रहेन । हामी एक्लै पछाडि फर्कन सक्ने अवस्था पनि थिएन । बिरालोले मुसा खेलाएझै पानिको छालले हामिलाई खेलाएको थियो । अली जेट स्कीको गति बढायो हावामा उड्ला जस्तो हुने, गति कम गरे पानीमा पल्टेला जस्तो हुने ।

काठमाण्डुमा मोटरसाईकलको पछाडी बस्ने केटिले चलाउने साथीलाई समातेको जसरि नै  उमेश मलाई चपक्क समातेर लपक्क परेको थियो । मलाई भने जेट स्किको ह्याण्डल बाहेक अरु समात्ने ठाँउ थिएन ।

जिवनमा अहिलेसम्मको यात्रामा सबैभन्दा धेरै डरलागेको यो नै पहिलो पटक थियो । समुन्द्र जस्तो देखिने तालको बिच भागमा पुग्दा त डरले मेरो जिवनको अन्तिम दिन आजै जस्तो लाग्यो । बेलाबेलामा पौडी खेल्न जाँदा समुन्द्र र तालमा डुबेर नेपाली लगायत अन्यको मुत्यु भएको समाचार सुनिरहन्थ्यो अबचै आफ्नै समाचार सुन्ने भए जस्तो लाग्यो ।

पछाडिबाट उमेश भन्दै थियो दिनेशजी जिन्दगीमा अब यो जेट स्की कहिले गर्दिन, त्यो सुनेर मनमा हाँसो पनि उठ्यो, आफूलाई भने जिन्दगीको अन्तिम दिन आजै होला जस्तो लाग्यो । जेट स्की नगर्ने दुई साथीहरुमध्ये एउटा मेरो भाई पनि थियो । त्यो पानीको बिचमा जिवन र मृत्युसंग लडेको महसुस गरिरहँदा भाईले जेट स्की नगरेकोमा खुशी लाग्यो । त्यतिकैमा गाईड हाम्रो नजिक आएर भन्यो अब तिमीहरु स्विच गर, अगाडिको पछाडी जान र पछाडिको अगाडि जान भन्यो । त्यसपछि जेट स्कि स्टप गरेर ठाँउ सर्नुपर्ने भयो ।

पछाडि बस्ने उमेशले म चलाउदिन भन्यो बरु हामीले छिटै सकौं भन्न लाग्यौ तर उल्टै गाईडले तिमीहरुलाई जेट स्की गर्दा मज्जा आईरहेको होला भनेर हौसला दिन खोजे । सायद त्यति भनेर उसले हामीलाई खुशी पार्न खोजेको होला । उसको पेसाअनुसार उ हामी खुशी र सन्तुष्ट भएको देख्न चाहान्थ्यो । पछाडि बस्ने उमेशले म चलाउँदिन भन्दा पनि उसले केहि हुदैन र डराउनु पर्दैन भन्यो । मैले पनि डरकै कारण उसलाई चलाउन कर लगाए ।

उसले मेरो र गाईडको आदेशले गर्दा हुन्न भन्न सकेन । पचास फिट जति टाडा रहेको गाईडले अगाडी पछाडी सर्ने तरिका भन्न लाग्यो  त्यतिकै बस्दा त मुटु काँपीरहेको थियो, अब त झन् उठ्नुपर्ने भयो । म दाँया बाट पछाडी सर्नुपर्ने भयो र उमेश पछाडि बाट अगाडि आउनुपर्ने भयो । पानी निकै डर लाग्दो देखिन्थ्यो । त्यसमाथि छालले बेस्मारी हल्लाई रहेको थियो ।

जसै उमेश बाँया र म दाँयातिर उभिने कोसिस गर्दै थियौ उति नै खेर जेट स्की अनब्यालेन्स भयो र मतिर उल्टियो, म पानीमा डुबे दुई चार मिनेट अघि सम्म पानीमा डुबेर मर्छु कि भन्ने डर मात्र थियो, अहिले त साँच्चिकै पानीमा खसें । पाँच सात सेकेण्ड म पानी भित्रै रहे । म त्यत्रो समुन्द्र रुपि तालमा झरें । म मरे । पाँच सात सेकेण्ड मेरो जिवन निराकार बन्यो । साथीले भने जेट स्किको ह्याण्डल समात्न भ्याएछ, उसको खुट्टा मात्र पानीमा पर्यो । म भने पुरै पानी भित्र पुगे । लाईफ ज्याकेटले गर्दा होला मेरो टाउको पाँच सात सेकेण्डमा नै पानीमाथि तैरियो । पानी देख्दा त झनै आत्तिएँ ।

उमेश पनि निकै आत्तिएको देखें, त्यति बेलासम्म गाईड हाम्रो नजिक आईसकेको रहेछ । उसले पौडिदै जेट स्किको पछाडी जान भन्यो । मन बेस्सरी आत्तिएको थिएँ । हिन्दीमा एउटा उखान छ, ‘मर्ता क्या नहि कर्ता’ म पनि मर्नै लागेको बेलामा केहि उपाय नभएर गाईडले भने अनुसार जेट स्कीको पछाडि पुगें । त्यसको पछाडि एउटा ह्याण्डल हुनेरहेछ, त्यसैमा समातेर जेट स्कीमा बल्ल तल्ल चढें । मरो हात गोडा लगायत सम्पुर्ण शरिर कापिरहेको थियो ।

त्यसपछि भने गाईडले फर्काएर लग्यो । म पछाडी बसे । उमेशले चलायो । उ यति डराएको थियो कि, उसले सक्दिन भन्ने बिकल्प नभएर मात्रै चलाएको थियो । म नडुबेको भए सायद उसले एक छिन चलाएपछि सक्दिन भन्थ्यो होला । बडो सास्ती पुर्ण तबरले उसले चलाएर किनारमा ल्यायो । किनारमा आए पछि मनमनै सोचें ( मरेर बाँचे ) मनमा मज्जाले हाँसो उठ्यो । गाईड पनि हामिलाई हेरेर हाँसी रहेको थियो ।

जिवनमा पहिलो पटक जेट स्की गर्दा मरेर बाँचियो । अब अर्को पटक गरिन्छ कि गरिदैन थाहा छैन तर त्यति बेला भने अब जीवनमा कहिल्यै गर्दिन भन्ने कसम खाएँ ।

प्रतिक्रिया दिनुहोस