अमेरिकामा मारिएका रेशमका हत्यारालाई ६० वर्षको जेल, २५ हजार डलर जरिवाना


काठमाडौं – गत वर्ष अमेरिकाको भर्जिनियामा हत्या गरिएका नेपाली मुलका स्व.रेशम बजगाईंका अभियुक्त हत्यारालाई भर्जिनियाको अदालतले ६० वर्ष कैद र २५ हजार डलर जरिवाना सुनाएको छ ।

भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले उक्त फैसला सुनाएको हो । जुरीले ६० वर्षको र २५ हजार डलरको सिफारिस गरे पछि न्यायधीशले उक्त निर्णय सुनाएका हुन् ।

रेशमका पक्षका वकिलले हत्यारालाई जन्म कैद सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० वर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने विषयमा दुवै पक्षका वकिलहरूको बहस भएपछि जुरीले उनीहरूको दाबीलाई नकार्दै हदै सम्मको सजाय सुनाएका थिए । हत्यारा जेल आगामी नोभेम्बर २२ मा जाने छन् ।

भर्जिनियाको हरन्डन शहरस्थित सुनोको ईन्धन चौकीमा स्व रेशम बजगाईलाई आगो निभाउने उपकरणले हिर्काएर माथिल्लो भागमा ज्यादा चोट पटक लागेको कारण बजगाइँको मृत्यु भएको थियो ।

फैसला हुनुअघि घटनाको सम्पूर्ण प्रमाण अदालतको न्यायाधीशलाई देखाईएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो । स्मरण रहोस, प्रथम श्रेणीको हत्याको लागि कम्तिमा २० वर्ष र बढीमा जन्म कैद हुन्छ ।

दोश्रो चरणको सुनुवाई पछि ६० वर्षको कैद र २५ हजार डलरको जरिमाना सुनाईएको हो । प्रहरीले गत वर्ष नै हरन्डन शहर कै किनमेल बजारको कार पार्कबाट अभियुक्त हत्यारा मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो । उनलाई प्रथम श्रेणीको हत्याको आरोप लगाई ६० वर्षको कैद सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement