अमेरिकालाई चीनको चेतावनी : ‘ठूलो मूल्य चुकाउनु पर्ला’


एजेन्सी – अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पोलोसीको चीन भ्रमणलाई लिएर कूटनीतिक विवाद बढेको छ । पेलोसीको भ्रमणको विरोधमा चीनले अमेरिकी राजदूतलाई बोलाएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार अमेरिकी राजदूत निकोलस बन्र्ससँगको कुराकानीको क्रममा उप–विदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणकोे कडा विरोध गरेका थिए ।

‘यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् । अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफै तिर्ने’ र वासिंगटनलाई तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ ।

मंगलबार अबेर ताइवान पुगेकी पलोसी बुधवार त्यहाँको संसद्‌मा पुगेकी छिन्। उनले ताइवानका राष्ट्रपतिसँग पनि भेट गर्ने ठानिएको छ। सभामुख पलोसी मंगलबार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्नसक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।

पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो। पलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्।

चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ। ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताइन्।

उनले भनिन्, “चीनको सार्वभौम सुरक्षा चासोलाई कम आँकेको कुराको अमेरिकाले जिम्मा लिनुपर्नेछ र त्यसको मूल्य चुकाउनुपर्नेछ।” मंगलबार चीनले ताइवान र मुख्य चिनियाँ भू-भागको अनौपचारिक विभाजन रेखामाथि युद्धक विमानहरू उडाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement