सीआईएको ड्रोन हमलामा मारिए अल-कायदा प्रमुख जवाहिरी


काठमाण्डु –  अल-कायदाका प्रमुख अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन् । आइतबार अफगानिस्तानको राजधानी काबुलमा गरेको ड्रोन हमलामा अलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको अमेरिकाले पुष्टि गरेको छ ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले एक भिडियो जारी गर्दै अमेरिकाको गुप्तचर विभाग सीआईएले गरेको ड्रोन हमलामा उनको मृत्यु भएको पुष्टि गरेका हुन् । सीआईएले अफगानिस्तानको राजधानी काबुलमा गरेको आतंकवाद विरोधी हमलामा जवाहिरीको मृत्यु भएको हो । सीआईएले ड्रोनमार्फत दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

जवाहिरीको परिवारका अन्य सदस्यहरूसँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको उनीहरूले बताएका छन्। बाइडनले आफूले ७१ वर्षीय अल-कायदा नेता विरुद्ध “लक्षित हमला”का लागि अन्तिम स्वीकृति दिएको बताएका छन्।

सन् २०११ मा ओसामा बिन-लादेन मारिएपछि जवाहिरीले अल-कायदाको नेतृत्व लिएका थिए। सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिन-लादेन र उनले संयुक्त रूपमा बनाएका थिए। उनी अमेरिकाको “मस्ट वण्टेड” आतङ्कवादी खोजी सूचीमा थिए।

जवाहिरी सन् २००० मा १७ अमेरिकी सैनिक मारिने गरी भएको विस्फोट लगायत अन्य हिंसात्मक घटनाका पनि योजनाकार रहेको बाइडनले बताए। इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement