काठमाण्डु– अमेरिकाले इरानविरुद्ध ठूलो संख्यामा प्रतिबन्ध घोषणा गर्दै उसका समर्थक राष्ट्रहरूलाई समेत चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय हमला’ भनेका छन्।
बेसेन्टले इरानका लागि यसलाई ‘आर्थिक डी–डे’ को संज्ञा दिँदै अमेरिकाले इरानसँगका सबै आर्थिक सम्बन्ध विच्छेद गर्ने बताए। उनले इरानसँग आर्थिक साझेदारी गर्ने कुनै पनि देशलाई समेत अन्तर्राष्ट्रिय रूपमा अलग्याइने चेतावनी दिए।
यद्यपि, इरानी शासनविरुद्धको पछिल्लो अमेरिकी चेतावनी ह्वाइट हाउसले द्वन्द्व अन्त्य गर्ने प्रयासमा पटक–पटक निर्णय परिवर्तन गर्दै समयसीमा लम्ब्याएको पृष्ठभूमिमा आएको हो।
अमेरिकी प्रतिबन्धको जवाफमा इरानका अर्थमन्त्री अली मदानिजादेहले प्रतिबन्ध सामना गर्न दुई वर्षे योजना तयार रहेको बताएका छन्। उनका अनुसार उक्त योजनाले अन्ततः अमेरिकाको अर्को पराजय हुने दाबी गरिएको बीबीसीले जनाएकाे छ।
युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ। पछिल्लो अमेरिकी चेतावनीपछि इरानले युद्ध जारी रहेमा क्षेत्रबाट हुने सम्पूर्ण तेल निर्यात बन्द गर्ने चेतावनी दिएको छ।
यसैबीच, रोयटर्सका अनुसार इरानी शासनले आफ्नो अनुमति नलिई स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरू आवतजावत नगर्न पुनः चेतावनी दिएको छ।
इरानको दक्षिणमा रहेको साँघुरो जलमार्ग स्ट्रेट अफ होर्मुजबाट सामान्य अवस्थामा विश्वको करिब पाँच भागको एक भाग तेल तथा ग्यास ओसारपसार हुने गर्छ। तर फेब्रुअरीको अन्त्यमा द्वन्द्व सुरु भएयता इरानले यस क्षेत्रको आवागमन प्रभावकारी रूपमा अवरुद्ध गरिदिएको छ। यसका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा बेसेन्टले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ नाम दिइएको अभियानबारे जानकारी दिँदै अमेरिकाले विश्वभर रहेका इरानका वित्तीय सम्बन्धविरुद्ध ‘आर्थिक हमला’ सुरु गरेको बताए।




प्रतिक्रिया