अमेरिका–इरान द्धन्दकाे मारमा इजरायल, चुनाव जित्न ट्रम्पले खेले यस्तो खेल


मोहन थापा, अवकास प्राप्त सुबेदार, नेपाली सेना

dish home

काठमाडौं – ३ जनवरी २०२० का दिन । इरानको राष्ट्रिय सेना ‘रिभोल्युसनरी गार्ड्स कप्र्स’ अन्तर्गतको एक बिभाग क्वीड फोर्सका प्रमुख, मेजर जनरल कासिम सोलेमानीको इराकको राजधानी बगदाद अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको केहि समयमै अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणमा हत्या भयो । त्यसयता अमेरिका–इरान द्धन्द बढेको छ । अमेरिका–इरान विवाद यथावत छ, तर मध्यपूर्वमा युद्ध हुनसक्ने बलियो सम्भावना तत्काललाई टरेको छ ।

सन् १९७९ मा आयतोल्लाह रुहोल्ला खोमेनी नेतृत्वमा भएको इस्लामिक क्रान्ति र तेहरानस्थित अमेरिकी दुतावास आक्रमण गरी त्यहाँ कार्यरत अमेरिकाका नागरिकलाई इरानले बन्दी बनाएदेखि नै, विश्वशक्ति अमेरिका र इरान बिपरीत ध्रुबमा छन् । अमेरिका–इरान द्धन्द, इरानको अवस्था, कासिम सोलेमानी, क्वीड्स फोर्स, इरानको सैनिक शक्ति र इजरायल स्वार्थ समेतको सन्दर्भमा यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

इरान
एशिया महादेशको मध्यपूर्वमा अवस्थित इरानको कुल क्षेत्रफल १६,४८,१९६ बर्ग कि.मी. रहेको छ । इरानको पूर्वमा अफगानिस्तान र पाकिस्तान, पश्चिममा टर्की र इराक, उत्तरमा अर्मेनिया, अजरबैजान र तुर्कमेनिस्तान, दक्षिणमा पर्सियन खाडी छ । तेहरान राजधानी रहेको इरानको जनसंख्या करिब आठ करोड छ । इरानमा झण्डै ८४ प्रतिशत जनता साक्षर छन । इरानको मुख्य आय तेल बिक्रि हो । तेल बाहेक टेक्सटायल र खाद्यान्न पनि हो । इरानीहरुले बोल्ने भाषा फारसी, पर्सियन, लुरी र कुर्दिस मुख्य हुन् । इरानमा ६ बर्षदेखि १० वर्षसम्म अनिवार्य शिक्षा व्यवस्था छ । इरानको मुद्राको नाम रियल हो । इरानीहरुको औसत आयु ७१ र प्रतिव्यक्ति आय २०,१०० अमेरिकी डलर रहेको छ । इरानमा बसोवास गर्ने प्रमुख जाति पर्सियन हुन् । त्यसपछि अरबी र कुर्दिस हुन् । इरानमा ९९ प्रतिशत जनता इस्लाम धर्म मान्ने छन् । मानव विकास सुचकांकमा इरान ०.७९८ औं स्थानमा छ ।

इरानको पुरानो नाम प्रशिया हो । सन् ६४२ मा अरबहरुले इरानको पुरानो राजबंश Sassanians को अन्त गरी इस्लामिक शासन सुरु गरेका थिए । इरान ( प्रशिया ) एक समय शक्तिशाली साम्राज्य थियो । इस्माइल प्रथमले शक्तिशाली प्रशियन राज्यको स्थापना गरेर सिते इस्लाम धर्मको लागु गरेका थिए । सन् १७२२ मा इस्माइलले स्थापना गरेको राजबंशको अन्त भएको थियो ।

उन्नाइसौं शताव्दिमा इरानमा क्युजार राज बंश थियो । यो राजबंशले बेलायत र रुससाग सम्बन्ध बिस्तार गरी इरानलाई बिकसित तुल्याउने प्रयास गरिरहेको थियो । सन् १९०५– ६ मा इरानमा मुजाफ्टर प्रमुख शासक थिए । यसपछि नै इरानमा बिदेशी लगानीमा तेल उत्पादन सुरु भयो । सन् १९१७ ताका रुसमा कम्युनिष्ट क्रान्ति उत्कर्षमा रहेको बेला बेलायतको सहयोगमा इरानका शासक रेजा खानले क्युजार राजबंशको अन्तगरी आफुलाई इरानको राजा घोषणा गरे । उनले आफ्नो नाम रेजा शाह पहल्वी राखे ।

दोस्रो बिश्वयुद्ध १९३९–४५ मा इरानलाई बेलायत र रुसको साथ मिल्यो । सन १९४१ मा राजा रेजा शाह पहल्वीले स्वेच्छाले राजा पद त्यागे । उनका छोरा मोहम्मद रेजा शाह पहल्वी राजा भए । उनको पालामा बेलायती र अरु बिदेशी स्वामित्वका तेल कम्पनीको राष्ट्रियकरण गरे । यिनले इरानमा सन् १९६३–७१ मा स्वेतक्रान्ती चलाए । सन् १९७६ मा इरानमा धर्मनिरपेक्ष आन्दोलन चर्कियो । इरानका कट्टर इस्लामीक नेताहरु बिदेशिन बाध्य भए । यस अवधिमा इरानको सेना र उद्योगहरु कमजोर भए ।

सन् १९७६ ताका इरानमा चलेको धर्मनिरपेक्ष आन्दोलनमा भागेर फ्रान्समा लुकेर बसेका आयतोल्लाह रुहोल्ला खोमेनीले इरानमा इस्लामिक आन्दोलन चर्काए । इरानलाई इस्लामिक गणतन्त्र देश बनाउन खोमेनीको नेतृत्वमा ठुलो आन्दोलन भयो । बिस्तारै खोमेनीले शक्ति बढाउंदै लगे । अब इरानमा धर्मनिरपेक्षताको पक्षमा आन्दोलन गर्नेहरु इरान छाडेर बिदेशीए । सन् १९७९ मा खोमेनी नेतृत्वको इस्लामिक आन्दोलनकारीहरु इरानमा सर्वेसर्वा भए । राजा मोहम्मद रेजा शाह पहल्वी भागे । इरानको सत्ता खोमेनीले सम्हाले । खोमेनीले इरानलाई इस्लामिक देश घोषणा गरे ।

इरानको सेना

खोमेनीले इस्लामिक आन्दोलनका लागि अलग लडाकु दस्ता गठन गरेका थिए । त्यस दस्तालाई तालीम र हतियार दिइएको थियो । हतियारसहितको यो तालीमे लडाकु दस्ताले मोहम्मद रेजा शाह पहल्वीप्रति बफादार इरानको पुरानो सेनाबिरुद्ध लडेको थियो । बिस्तारै पुरानो सेनाका केहि सैनिक खोमेनीको आन्दोलनमा मिले । केहि बिस्थापित भए । इरानका कट्टर इस्लाम युवाहरु लडाकु दस्तामा सम्मिलित हुनथाले । राजा देश छाडेर भागेपछि पुरानो सेना क्षतबिक्षत भयो । खोमेनीले गठन गरेको लडाकु दस्तालाई ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कप्र्स’ नाम दिइयो । यहि लडाकु दस्ता नै इरानको राष्ट्रिय सेना बन्यो ।

रिभोल्युसनरी गार्ड्स कप्र्स पूर्णतः इस्लामिक लडाकु दस्ता हो । यही लडाकु दस्ताको सहयोगमा खोमेनीले इरानको सत्ता कव्जा गरे । इरानलाई इस्लामिक राष्ट्र घोषणा गरे ।

इरानको राष्ट्रिय सेना अर्थात रिभोल्युसनरी गार्ड्स कप्र्सको सर्वाेच्च कमाण्डर हाल पनि आयातोल्लाह अली खोमेनी छन् । आयातोल्लाह अली खोमेनीलाई इरानमा सर्वाेच्च नेता संवोधन गरिन्छ । उनी इरान सरकारको कुनैपनि पदमा छैनन । कुनै निर्वाचनबाट निर्वाचित भएका पनि होइनन । तर इरानको सेना निर्वाचित सरकार र संसदप्रति होइन, खोमेनीप्रति बफादार छ ।

खोमेनीलाई इरानमा इस्लामका सर्वाेच्च धार्मिक गुरु पनि सम्बोधन गरिन्छ । यस अर्थमा इरानको सेना इस्लामिक धार्मिक आस्थाबाट परिचालित छ भन्दा फरक पर्ने छैन ।

रिभोल्युसनरी गार्ड्स कप्र्स नाम सन् १९७९ को इस्लामिक क्रान्तिका समयमा दिइएको हो । यो दस्ता आफ्नो अभियानमा सफल पनि भयो । यो दस्ता वा सङ्गठनलाई इस्लामिक व्यवस्थाको रक्षाका लागि भनी खोमेनीले पटकपटक संबोधन गर्दै आएको हुँदा, इरानको सेनालाई इस्लामिक सेना पनि भन्ने गरिन्छ ।

हाल इरानको ‘रिभोल्युसनरी गार्ड्स कप्र्स’ मा करिब सात लाख अस्सी हजार सैनिक रहेको बताइन्छ । यो सेना आणविक अस्त्रबाट सुसज्जित छ । यसले उच्चस्तरको युरेनियम प्रशोधन गरी बिक्रि गर्ने गरेको र इरानका लागि बिदेशी मुद्रा आर्जन गर्ने गरेको बताइन्छ ।

इरानको रिभोल्युसनरी गार्ड्सले पाकिस्तानका आणविक वैज्ञानीक डा. ए. क्यु. खानको गुप्त सहयोगमा आणविक अस्त्रको निर्माण र विकास गरेको थियो ।

सन् १९७९ को इस्लामिक आन्दोलन सफल भएपछि खोमेनीले इरानमा आफ्नो सत्ता बलियो बनाउन हरसम्भव प्रयास गरे । यसका लागि उनले रिभोल्युसनरी गार्ड्स कप्र्स लाई आधुनिक हातहतियार र तालीम दिने व्यबस्था गरे । आफ्ना विश्वासप्राप्त व्यक्तिलाई उच्च तहको कमाण्डर नियुक्त गरे ।

सन् १९८९ मा आयतोल्लाह रुहोल्ला खोमेनीको मृत्यु भयो । त्यसपछिको केही समय इरानमा अन्योलता छायो । शक्ति संघर्ष भयो । हाल इरानको सर्वाेच्च धार्मिक नेता आयातोल्लाह अली खोमेनी छन् । इरानको रिभोल्युसनरी गार्ड्स कप्र्स उनीप्रति बफादार छ ।

सन् १९९१ को राष्ट्रपति निर्वाचनमा हसन रफ्सन्जानी निर्वाचित भए । त्यसपछिको निर्वाचनमा कट्टर इस्लामिक नेता अहमदिनेजाद निर्वाचित भए । यिनी दुइपटक राष्ट्रपति निर्वाचित भए । उनी अमेरिका र इजरायलको कट्टर बिरोधी थिए । रफसन्जानीको कार्यकालमा आणविक हतियार निर्माण सुरु भएको थियो । अहमदजिनेजादको राष्ट्रपति कालमा इरानले आणविक अस्त्र परीक्षण गरेको थियो । हाल इरानका राष्ट्रपति हसन रौहानी छन् ।

ती राष्ट्र«पतिको कार्यकालमा इरानले ठुलो परिमाणमा युरेनियम सम्बर्धन गरेको समाचार आए । सन् २००८ मा इरानले परमाणु उत्पादन क्षमता ६ हजार सेन्ट्रीफ्युज पुर्याएको थियो । सन् २००८ को डिसेम्बरमा इरानले १२०० माइल मार हान्न सक्ने ‘साजिल–२’ नामक क्षेप्यास्त्र परीक्षण गरेको थियो । सन् २०१० को फेब्रुअरी २० प्रतिसत बढी युरेनियम सम्बर्धन गर्ने गरेको समाचार बाहिरियो । सोही वर्ष इरानले छोटो दुरीको क्षेप्यास्त्र निर्माण गर्ने कारखाना सञ्चालन गर्यो । आज पनि इरानले निरन्तर छोटो दुरी मार हान्ने मिसाइल निर्माण गर्दछ ।

आणविक अस्त्र निर्माण गरेको भन्दै अमेरिका र उसका समर्थक देशले इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । विश्वका देशका सैन्यशक्ति र सामथ्र्यबारे वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको ग्लोबल फायर पावर नामक अन्तर्राष्ट्रिय संस्थाका अनुसार विश्व सैन्य शक्तिमा सन् २०१८ मा अमेरिका पहिलो स्थानमा छ भने इरान १४ औं स्थानमा छ ।

इरान इराक युद्धमा रिभोल्युसनरी गार्ड्स कप्र्स

इरानको रिभोल्युसनरी गार्डु्स कप्र्सले इरानको सत्ता कव्जा गरेको लगत्तैपछि इराकसँगको लामो र परम्परागत युद्ध लड्यो । इरान र इराकबीच सन् १९८०–८८ सम्म परम्परागत युद्ध भयो । यस युद्धमा इरानको धेरै धन र जनको क्षति भयो तर इरानको सेनाले उक्त युद्धबाट धेरै कुराहरु सिक्यो । खासमा त युद्धमा सङ्गठीत हुने र व्यवस्थित हुने अवसर पायो । इराकलाई अमेरिकाको साथ थियो । अमेरिकी सहयोग बाबजुद इरानले इराकसँग आठ बर्ष परम्परागत युद्ध लडिरह्यो । यस युद्धमा इरानका करिब १० लाख युवा मारिएको अनुमान गरिएको छ ।

धेरै खर्च भयो । तर पनि रिभोल्युसनरी गार्ड्सले उक्त युद्धबाट संघर्षमा टिक्ने र धैर्य गर्ने क्षमता पाएको इरानको तर्क छ । युद्धमा कुशल सैन्य रणनीति निर्माण गर्नसक्ने सैनिक नेतृत्व जन्माएको उनीहरुको दावी छ । यस युद्धबाट सेनामा युद्धप्रिय संस्कृति निर्माण भयो । यो गार्ड्सले आफुभन्दा बलियो शत्रुसँग लड्ने र टिक्ने रणनीति सिक्यो । उक्त युद्धले रिभोल्युसनरी गार्ड्सलाई इरानी जनता र युवाको अपूर्व साथ र सहयोग दिलायो । इरानी सेनाले युद्धमा एकत्रित भएर मात्र होइन छरिएर शत्रुसँग लड्ने कला सिके ।

जोन्स हप्कीन्स युनिभर्सिटीकी सह प्राध्यापक नर्गिस बजोध्लीका अनुसार, अमेरिकी साथ सहयोग पाएको तत्कालीन इराकी सेनाविरुद्धको लडाईंबाट नै इरानी रिभोल्युसनरी गार्डस्को आजको संघर्षशील संस्कृति र नेतृत्वशैली निर्माण हुनसक्यो ।

क्वीडस फोर्स
इरानको राष्ट्रिय सेना ’रिभोल्युसनरी गार्ड्स कप्र्स‘ को एक बिभाग हो इरानी क्वीड्स फोर्स । यस फोर्सले इरानबाहिरको मामलामा काम गर्दै आएको छ । इराक, लेबनान, यमन, सिरिया लगायत अरब देशमा छरिएर लड्ने इस्लामिक लडाकुमाझ यो फोर्स सक्रिय छ । भनिन्छ यहि फोर्समार्फत अरबका इस्लामिक लडाकुले इरानबाट हतियार, तालिम, पैसा र अन्य सल्लाह, सुझाव पाउँदै आएका छन् । अरब देशहरुमा इरानको बलियो उपस्थिति बनाइराख्न यो फोर्स सक्रिय छ । इराकमा सद्दाम हुसेनको पतनपछि इरानको प्रभाव बलियो छ । अरबमा प्रभाव जमाइसकेको इस्लामिक अतिवादी समुह इस्लामिक स्टेट (आइ एस) बिरुद्ध इराक र सिरियामा यस क्वीड्स फोर्सले अग्रमोर्चामा रहेर लडेको थियो । अमेरिकासँगको अघोषित सहकार्य मार्फत इराकबाट आए एस लाई पराजित गर्न क्वीड्स फोर्स सफल भएको थियो ।

बिगत केहि वर्षयता साउदी अरब यमनमा हुथी बिद्रोहीबिरुद्ध सैन्य अभियानमा छ । साउदी अरबको यमनमा सैनिक अभियान निस्तेज बनाउन क्वीड फोर्सले तागत लगाइरहेको छ । गत महिना साउदी अरबको तेल भण्डारणमा मिसाइल आक्रमण भयो । यस आक्रमणमा अमेरिका र साउदीले इरानको संलग्नता रहेको संकेत गरे । यस आक्रमणमा इरानको क्वीड फोर्सको हात रहेको पश्चिमी देशहरुको अनुमान छ ।

इरानको क्वीड्स फोर्सले अफगानिस्तानबाट तलीवानीलाई सत्ताबाट हटाउन भूमिका खेलेको थियो । यसबाहेक अरब र आसपासका देशभित्रका अनेकौं सैनिक कारवाही, बम बिष्फोट, सशश्त्र द्धन्दमा यो फोर्स संलग्न छ । लेबनानका हिज्बुल्लाहलाई तालीम र हतियार दिएर यस फोर्सले निरन्तर सहयोग गरिरहेको छ । पेलिस्टाइनका बिद्रोहीहरुलाई इजरायलबिरुद्ध लडन निरन्तर सहयोग गर्दै आएको छ । सिरियामा सन् २०११ देखि बसर अल असदको सत्ताबिरुद्ध भएको सशश्त्र हिंसात्मक कारवाहीमा असदको पक्षमा काम गर्दै आएको छ ।

इरानको सन् १९७९ को इस्लामिक क्रान्ति अमेरिकाको बिरुद्ध पनि थियो । त्यसयता नै इरान र अमेरिका बिपरीत ध्रुबमा छन् । अमेरिकाले इरानबिरुद्ध इराकलाई साथ दियो र युद्धमा धकेल्यो । अरब देशका सदाबहार बिरोधि इजरायल अमेरिकाको मित्र देश हो भने इरानको दुस्मन देश । इजरायलले अरबका इस्लामिक देशका भुभाग जबर्जस्त अधीकरण गरेको छ, जसका बिरुद्ध अरब जनमत बिपक्षमा छ । इरानले अरबको यही इजरायल, अमेरिकी बिरोधी जनमतलाई आपूmतर्फ आकर्षित गर्ने प्रयास गरिरहेको छ ।

अमेरिकाले अरब देश र जनमत आफूबिरुद्ध परिचालित गर्ने भयले इरानले सन् १९८० देखि नै अमेरिका र इजरायल बिरोधी समुह तयार गर्न ठुलो धनराशी लगानी गर्दै आएको छ । अरबका हरेक देशमा सशश्त्र इस्लामिक लडाकु दस्ता तयार गरेको छ । तिनलाई तालिम, हतियार र पैसा उपलव्ध गराउंदै आएको छ । कासिम सोलेमानी खासमा इरानको स्वार्थमा परिचालन हुने अरबका अमेरिका इजरायल बिरोधी ती लडाकु दस्तासँग निकट थिए । इरानले रिभोल्युसनरी गार्ड्स कप्र्स अन्तर्गतको क्वीड्स फोर्सलाई यही कार्यमा परिचालन गर्दै आएको छ ।

इरानको संलग्नतामा इरानबाहिरका देशमा भएका यसप्रकारका गतिबिधिमा इरानको रिभोल्युसनरी गार्ड्स कप्र्स अन्तर्गतको यहि क्वीड फोर्स र मेजर जनरल कासिम सोलेमानी सक्रिय थिए ।

मेजर जनरल कासिम सोलेमानीको हत्यापछि इरानले क्वीड्स फोर्सका बृगेडियर जनरल इस्लाइल कानीलाई उक्त फोर्सको कमाण्डर नियुक्त गरेको छ ।

कासिम सोलेमानी
कासिम सोलेमानीको जन्म सन् १९५७ मार्च ११ मा इरानको एक प्रान्त इम्पेरियल स्टेटमा पर्ने मलेक केरमानमा भएको थियो । कासिम सोलेमानीका पिता साधारण किसान थिए । उनको सन् २०१७ मा मृत्यु भयो । उनकी आमा सामान्य गृहिणी थिइन । धेरै रोगबाट थलीएकी उनको सन् २०१३ मा मृत्यु भयो ।

कासिम सोलेमानीको एक भाइ र ५ दिदीबहिनी छन् । उनका दुइ छोरा र दुइ छोरी छन् ।

युवाकालमा कासिमले पिताको घरको ऋण तिर्न एक निर्माण कम्पनीमा मजदुरको काम गरेका थिए । केहि पछि, सन् १९७५ ताका यिनले केरमानकै एक पानी सम्बन्धी कम्पनीमा काम गरेका थिए ।

घरको आर्थिक अवस्था सामान्य भएकाले कासिमले धेरै अध्ययन गर्न पाएनन् । उनले सन् १९७९ मा इरानको रिभोल्युसनरी गार्ड्स कप्र्स मा सिपाहीमा सेवा प्रबेश गरे । त्यसबेला यो गार्ड्स भर्खरै व्यवस्थित हुंदै थियो । त्यसैले त्यसबेलाको नियम अनुसार कासिमले धेरै कम मात्रामा सामान्य तालीम लिन पाए । इरानमा भर्खर सत्ता सम्हालेकाले यो गार्ड्सको पक्ष र बिपक्षमा मानिसहरु थिए । उनी इस्लामिक आन्दोलनको पक्षमा खुलेर सक्रिय भए । इस्लामिक आन्दोलनलाई पूर्णता दिन कम्मर कसेर लागे ।

तालीमपछि कासिम इरानको उत्तरपश्चिमी भुभागमा खटाइए । त्यसबेला उनी खट्टीएको इलाकामा इरानबिरुद्ध कुर्द र अजरबैजानका बिद्रोही सक्रिय थिए । ती बिद्रोहीबिरुद्ध इरानले गरेको सैनिक कारवहीमा कासिम सोलेमानीले ज्यान माया मारेर लडे । उक्त कारवाहीबाट कासिमको उच्च मूल्याङ्कन भयो । उनले पदोन्नति पाए ।

सन् १९८० मा इरानको छिमेकी इराकसँग युद्ध भयो । यो युद्ध सन् १९८८ सम्म भयो । इराकसँगको युद्धमा पनि सोलेमानी खटाइए । सोलेमानीले केरमान इलाकाका युवा सङ्कलन गरेर तिनलाई सैनिक तालीम दिए । सोलेमानीले एकीकृत गरी तालीम दिएका युवाले इराकबिरुद्ध सशक्त युद्ध गरे । अब कासिम सोलेमानी युद्धमा चर्चित भए । सोलेमानी ती युवा सैनिकका कमाण्डर बनाइए । यसपद्धि कासिम सोलेमानी सैनिक नेतृत्वका रुपमा स्थापित भए । इराक युद्धको अन्त भएसंगै सोलेमानी इरानमा हिरो भए । उनले इराकले कव्जा गरेको इरानको भूमि फिर्ता गराउने सैनिक अभियानमा खेलेको भूमिकाबाट इरानीहरु खुशी भए । यहि युद्धबाट कासिम सोलेमानीले इरानी सेनामा उच्च पद पाए । सम्मान पाए ।

इराकसँगको युद्धपछि कासिमले इरानी सेनाको ४१ औं डिभिजन कमाण्डर पद पाए । यो डिभिजनले चुनौतिपूर्ण सैनिक कारवाहीहरुमा भाग लिने गर्दथ्यो । इरानले संचालन गरेका सैनिक कारवाहीहरुमा यिनको डिभिजन र यिनी प्रायः संलग्न हुन्थे । यसक्रममा अप्रेशन तारिक–अल–क्वीड्समा कासिम सोलेमानी सख्त घाइते भएका थिए ।

इरानको सैन्य मुख्यालयको निर्देशनमा इराक र अरबका मुख्य भूमिमा गराउने हत्या, बिष्फोट, आगजनी, आन्दोलनहरुमा कासिम सोलेमानी योजना बनाउँदथे । कार्यान्वयन गर्नमा आफैं खट्टिन्थे । इराक सरकारबिरोधी र अमेरिकाबिरोधी अभियानहरुमा कासिमको योजना हुने गर्दथ्यो । कासिम सोलेमानीले इराकका आदिवासि कुर्दहरुसँग निकटको सम्बन्ध कायम गरेका थिए ।

सन् १९९० ताका कासिम सोलेमानी केरमान प्रदेशमा इरानी रिभोल्युसनरी गार्ड्स कप्र्सका कमाण्डर थिए । कासिम सोलेमानीको सक्रियता, सफलता, अनुभव, सम्बन्ध र दक्षतालाइ लिएर इरानको उच्च नेतृत्वबीच चर्चा भइरहन्थ्यो । ठ्याक्कै उनी कहिलेबाट क्वीड्स फोर्सका कमाण्डर बने भन्ने यकीन मिति अंकित पाइदैन । तरपनि १० सेप्टेम्बर १९९७ देखि २१ मार्च १९९८ को बीचमा उनी आधिकारिक रुपमा क्वीड्स फोर्सको कमाण्डर बनेको इरानी सेनाका अधिकारीको दावी छ ।

कासिम सोलेमानी इरानका एक सैनिक अधिकृत मात्र होइनन । उनी अरब देशका इरानसँगका पुल पनि थिए । कासिमले लेबनानका हिज्बुल्लाह लडाकुसँग निकट सम्बन्ध बनाएका थिए । इरानमार्फत हिज्बुल्लाहलाई निरन्तर तालिम, हतियार र पैसा दिने प्रबन्ध सोलेमानीकै हो । हिज्बुल्लाहले अन्तिम भर गर्ने शक्ति र देश इरान नै हो । इरानको पनि अरबमा असल र निकट सम्बन्ध भएको देश लेबनान र समूह हिज्बुल्लाह लडाकु नै हुन् । इरान र हिज्बुल्लाहबीच प्रगाढ सम्बन्ध बनाउनमा कासिम सोलेमानीको परिश्रम धेरै परेको छ । हिज्बुल्लाहलाई इजरायलको अधीनमा रहेको दक्षिण लेबनान इलाका फीर्ता लिन साथ र सहयोग दिने शक्ति इरान नै हो । कासिम सोलेमानी नै हुन् ।

कासिम सोलेमानी सन् २०११ को जनवरी २४ मा इरानी सेनाको मेजर जनरल पदमा पदोन्नत भएका थिए । मेजर जनरल पदमा पदोन्नत भएर पनी उनी क्वीड्स फोर्सका कमाण्डर नै रहे । कासिम सोलेमानीको इरानका सर्वाेच्च नेता आयातोल्लाह अली खोमेनीसँग निकट सम्बन्ध थियो । खोमेनीले सोलेमानी जिवित छँदै इरानको सार्वजनिकस्थलमा सम्बोधन गर्दै भनेका थिएः कासिम सोलेमानी इरानका जिवित शहिद हुन् ।

कासिम सोलेमानीसँग धेरै समय सम्बन्धमा रहेका अरबीहरुका अनुसारः कासिम शान्त प्रकृतिमा मानिस थिए । उनी प्रायः सैनिक पोशाकमा हुंदैनथे । निरन्तर कार्यक्षेत्रमा रहन्थे ।

युवाकालमा कासिम सोलेमानीले जिम सिकाएका थिए । उनी करातेंका गुरु पनि थिए । उनको जन्म गाउँ केरमानमा कासिम सोलेमानीलाई मानिसहरु फिटनेस गूरु भन्दथे ।

सिरियामा सन् २०११ देखि त्यहाँका राष्ट्रपति बसर अल असद बिरुद्ध संघर्ष चलिरहेको छ । लाखौं मानिस मारिएका छन् । लाखौंको संख्यामा बिस्थापित भइसकेका छन् । सन् १९८०–८८ को इरान इराक युद्धमा इरानलाई साथ दिने सिरिया एउटा देश थियो । त्यही सिरियालाई संकट पर्दा इरान चुप बस्न सक्दैन भन्दै इरानले सिरियाका राष्ट्रपति बसर अल असदलाई सहयोग गर्ने निर्णय गर्यो । सिरियाका राष्ट्रपतिको पक्षमा आक्रामक रुपमा लड्ने लडाकु दस्ताको नेतृत्व कासिम सोलेमानी र उनको फोर्सले गर्यो । फलतः आजसम्म आइपुग्दा त्यहाँका राष्ट्रपति बसर अल असद सत्तामा थप बलियो भएका छन् ।

कासिम सोलेमानी इरानको एक साधारण किसान परिवारमा जन्मिएर हुर्किएका इस्लाम युवा थिए । उनले उच्च शिक्षाको अबसर पाएनन् । उनी इरानको पछिल्लो क्रान्तिको पक्षमा उभिए । सर्वाेच्च नेता आयतोल्लाह रुहोल्ला खोमेनी र आयातोल्लाह अली खोमेनीका निकट बने । इरानको सर्वाेच्च नेताले मार्गनिर्देशन गरेको पथमा लागिपरे । हालका दिनमा अरब देशका इस्लाम जनतामा इरानको लोकप्रियता बढिरहेको छ । इरानमा, कासिम सोलेमानीलाई इरानको हिरो मान्नेको संख्या बढिरहेको थियो ।

बेलायतको एक संस्थाले सन् २०१८ मा गरेको एक अनौपचारिक सर्वेक्षणमा उनी इरानका राष्ट्रपति भन्दा धेरै लोकप्रिय रहेका थिए । अरब र बिश्वका लोकप्रिय सचार माध्यमका अनुसार इरानका क्रान्ति नायक आयतोल्लाह रुहोल्ला खोमेनीको मृत्यु हूंदा सन् १९८९ मा सबयात्रामा सहभागीको संख्याभन्दा कासिम सोलेमानीको सबयात्रामा सहभागीको संख्या धेरै थियो । इरान र इराक सरकारले सोलेमानीको हत्यामा देशभर ४ दिन शोक मनाउने घोषणा गरेका थिए । यसबाट पनि इरानमा उनको लोकप्रियताबारे अनुमान गर्न सकिन्छ ।

अरब प्रायदीप वा मध्यपूर्व बिगत दुइ हज्जार वर्षदेखि सैनिक दृष्टिले चर्चामा रहदै आएको छ । यहाँ कहिले अन्य देशका त कहिले यस भेगका सैनिक कीर्तिमानी बन्ने होडमा हुन्छन् । यस परिप्रेक्ष्यमा पछिल्लोसमय कासिम सोलेमानीले चर्चा कमाए । उनी इरानका मात्र थिएनन, इराक, सिरिया, लेबनान र यमनमा पनि उत्तिकै लोकप्रिय थिए । अरबमा चर्चित थिए । खासमा कासिम सोलेमानी मध्यपूर्वका इस्लामिक सैन्य कमाण्डर थिए । निरन्तर सफलतातर्फ उन्मुख थिए । यसर्थ इजरायल र अमेरिकाले धेरैसमयदेखि कासिम सोलेमानीमाथि गुप्त निगरानी गरिरहेका थिए ।

३ जनवरी २०२० का दिन । इराकको बगदादस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कीएर कतै जाँदैं गर्दा उनी र इराकको पपुलर मोबिलाइजेसन फोर्सका डेपुटी कमाण्डर अबु मेहदी चढेको कारमा अमेरिकी ड्रोन आक्रमण भयो । उनको कार पूर्णतः ध्वस्त भयो । कासिम सोलेमानी र अबु मेहदीको जीवनलीला पनि त्यहि कारसँगै समाप्त भयो ।

आज विश्वका करिब १९४ देशमा सेना छ । ती सेनामा करोडभन्दा बढि मानिस सैनिक बनेर जागीर खाइरहेका छन् । तीमध्ये हाम्रो नेपाल पनि सेना र सैनिक भएको देश हो । नेपाल लगायत विश्वका करोडौं सैनिक (केहि अपवादवाहेक) आफ्नै देशभित्र मरे बाँचेको अवस्थाबाट बेखबर हुन्छन् । उच्चतहका सैनिक पनि केवल परिवार पाल्न जागीर गरिरहेका हुन्छन् । कासिम सोलेमानि भने करोड सैनिकमध्ये एक पृथक सैनिक थिए । उनले केवल जागीर खाएनन, इरान र इरानी सेनाको यश वृद्धिका लागि सिङ्गो जीवन अर्पण गरे । तसर्थ कासिम सोलेमानि केवल इरानका मात्र होइनन सिङ्गो अरब र विश्वमै चर्चित सैनिक बने ।

मेजर जनरल कासिम सोलेमानी निश्चय नै इरानी सेनाका महत्वपूर्ण व्यक्ति थिए । उनले अरब र विश्वमै इरानको प्रभाव बढाउन अतुलनीय योगदान गरेका थिए । कासिमको मृत्युपछि इरानले एक अनुभवी र त्यागी जनरलको अभाव पक्कै महसुस गर्नेछ । तर अरबको सुरक्षालाई नजिकबाट नियालीरहेका सुरक्षाविज्ञहरुका अनुसार सोलेमानीको मृत्युपछि इरान खासै कमजोर हुनेछैन । अरबमा क्षेत्रमा इरानको प्रभावमा तात्विकरुपमा फरक आउनेछैन ।

कासिम सोलेमानीको हत्या र अमेरिकी कदमले उत्पन्न गरेका प्रश्नहरु

अमेरिकी आक्रमणबाट इस्लामिक समूह अलकायदाका संस्थापक ओसामा विन लादेन पाकिस्तानमा मारिए ।

अमेरिकी आक्रमणबाट कट्टर इस्लामिक समुह इस्लामिक स्टेट (आइ एस) का नेता अबु बकर अल बग्दादी सिरियामा मारिए ।

अमेरिकी आक्रमणमा हालै इरानका प्रभावशाली मेजर जनरल कासिम सोलेमानी इराकमा मारिएका छन् ।

एउटा शक्ति राष्ट्रले मन नपरेको देशका कुनैपनि नागरिक, सैनिक, अभियन्ता, राजनीतिज्ञ वा जो कोहीमाथि अस्त्र प्रहार गरेर हत्या गर्न सक्छ ?

यसप्रकारको हत्याले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको छैन ?

यो हत्या: न्यायिक, गैरन्यायिक के हो ?

यसप्रकारका हत्यालाई आजको विश्वले सहजरुपमा स्वीकार गर्न सक्छ ?

के यहाँनेर मानवअधिकार हननको प्रश्न उठ्दैन ?

संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मानवअधिकार नियोग जस्ता निकायले के पराधीन, अल्पबिकसित, गरिब र सैनिक शक्तिमा कमजोर देशका शासकमाथि मात्र मानवअधिकारको प्रश्न उठाएर दण्डित गर्ने हो ?

के कुनै दिन यी प्रश्नमाथि बहस होला ?

विश्वको सुपर पावर अमेरिकाको शक्ति सामु कहिल्यै प्रश्न उठदैन ?

अमेरिका–इरान द्धन्दमा इजरायल

अमेरिकाको अरब क्षेत्रमा केहि स्वार्थ छन् । पेट्रोलियम पदार्थको स्रोत रहेको अरबमा अमेरिका आफ्नो पकड राख्न चाहन्छ ।

त्यसबाहेक इजरायल अमेरिकाको मित्र देश हो । इजरायलको दीर्घकालीन सुरक्षाका लागि अमेरिका, इरान आणविक र सैन्य मामलामा बलियो भएको हेर्न चाहंंदैन । अमेरिकामा यहुदीहरुको बलियो मत छ । यहुदी मत गत राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई परेको विश्वास गरिएको छ । ट्रम्प आगामी निर्वाचनमा पनि राष्ट्रपति पदमा प्रतिस्पर्धा गर्ने सोचमा छन् । अमेरिकी यहुदीहरु अमेरिकी राष्ट्रपतिले इजरायलको स्वार्थमा लीने सैन्य रणनीतिअनुरुप निर्णय लिने गर्दछन् ।

अरबमा इजरायललाई टक्कर दिनसक्ने सैनिक शक्ति आर्जन गर्दै गरेको देश इरान नै हो । तसर्थ अमेरिकी राष्ट्रपति ट्रम्पले अरब देशमा प्रभावशाली रहेका इरानका मेजर जनरलको हत्या गरेर इजरायललाई खुशी बनाएका छन् । अमेरिकामा रहेका यहुदीको मन जित्ने प्रयास गरेका छन् ।

अन्तमा

अमेरिका इस्लामिक उग्रवादीहरुको उग्र कदमको सिकार बनेको छ । कासिम सोलेमानि गलत हुनसक्छन् । अमेरिकाको हरेक कदम विश्वले चासोका साथ हेरिरहेको हुन्छ । यसका लागि अमेरिकाले न्यायिक बाटो समात्नु विश्वलाई नै सही बाटोतर्फ डोर्याउनु हो । हत्याको श्रृंखलाले विश्वलाई सही बाटोतर्फ प्रेरित गर्नेछैन । यसले विश्वमा अमेरिकाको साख पनि बढ्ने छैन । यसप्रकारको कदमबाट पक्कै पनि विश्वमा सकारात्मक प्रभाव पर्नेछैन ।

प्रतिक्रिया दिनुहोस