काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर सर्वसाधारणको मृत्यु भएको घटनापछि सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरिएको छ ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र नेपाल प्रहरीका अधिकारीहरूलाई फिर्ता झिकाएको छ ।
सीडीओ घिमिरेलाई फिर्ता बोलाएर मन्त्रालयले संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई सुनसरीमा खटाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाण्डु तानेर डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी प्रहरी प्रमुखमा पठाइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाएर डीएसपी मदन नाथलाई कप्तानगञ्ज पठाइएको छ ।
घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।




प्रतिक्रिया