काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको सचिवालय बैठकमा शुक्रबार सञ्चारगृहमा प्रहरी प्रवेश गराएको र पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाबारे लामो छलफल भयो।
बैठकमा सहभागी अधिकांश नेताहरूले प्रेस तथा पत्रकारमाथि भएको धरपकडको विषयलाई गम्भीर रूपमा उठाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए।
छलफलका क्रममा पत्रकार र प्रेसमाथि कुनै पनि प्रकारको आक्रमण हुन नहुने विषयमा नेताहरू एकमत देखिएका थिए। पार्टी सभापति रवि लामिछाने पनि यो विषयमा गम्भीर देखिएका थिए।
उनले आफूले प्रधानमन्त्री वालेन्द्र शाहसँग समेत यसबारे कुराकानी गरेको र प्रधानमन्त्रीले घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताएको बैठकमा जानकारी गराएका थिए।
बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार रविले प्रधानमन्त्रीसँग भएको कुराकानीबारे बैठकमा र अनौपचारिक छलफलका क्रममा समेत जानकारी गराएका थिए।
‘पार्टी सभापतिज्यूले प्रधानमन्त्रीसँग पनि कुरा गर्नुभएको रहेछ। बैठकमा र हामीसँगको अनौपचारिक कुराकानीमा पनि उहाँले त्यसो भन्नुभयो। प्रधानमन्त्रीसँग बुझ्दा आफूलाई जानकारी नभएको जवाफ आएपछि हामी अझै थप अध्ययन हुनुपर्ने निष्कर्षमा पुगेका हौँ,’ बैठकपछि एक सचिवालय सदस्यले काठमाण्डुपार्टीसँग भने, ‘प्रधानमन्त्रीज्यू र पार्टी सभापतिबीच धेरै कुराकानी भएको रहेछ। तर प्रधानमन्त्रीज्यूले आफूलाई यो विषयमा जानकारी नभएको बताउनुभएर अनुसन्धान हुनुपर्ने विषयमा सकारात्मक धारणा राख्नुभएको रहेछ।’
बैठकमा धारणा राख्ने क्रममा केही नेताहरूले प्रधानमन्त्रीलाई नै पत्रकार पक्राउ परेको विषयमा जानकारी नहुनुलाई शङ्कास्पद रूपमा हेर्नुपर्ने मतसमेत राखेका थिए।
प्रधानमन्त्रीलाई घटनाबारे जानकारी थिएन भने कसको निर्देशनमा प्रहरी सञ्चारगृहसम्म पुग्यो र पत्रकारहरूलाई नियन्त्रणमा लिइयो भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने उनीहरूको भनाइ थियो।
त्यसको जवाफमा रविले प्रधानमन्त्रीले आफूलाई घटनाबारे जानकारी नभएको स्पष्ट रूपमा बताएकाले अब सत्यतथ्य छानबिन गर्नुको विकल्प नरहेको धारणा राखेका थिए।
‘प्रधानमन्त्रीले नै यो विषयमा आफूलाई जानकारी छैन भनेपछि छानबिनको विकल्प देखिँदैन। किनभने भोलिका दिनमा यस्ता घटनाहरू नघटून्। म यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने प्रेसमाथि आक्रमण गरेर हामी कहीँ पनि पुग्दैनौँ। साथीहरू, मैले हिजो पनि भनेको थिएँ, आज पनि भन्छु, हामी कसैमाथि प्रतिशोधको भावना र बदलाको राजनीति गर्दैनौँ। हामी सत्य, न्याय र निष्पक्ष रूपमा काम गर्छौं। कानुनी प्रक्रियामा जान्छौँ र त्यसलाई अपनाउँछौँ,’ रविले बैठकमा भनेका थिए।
बैठकमा महामन्त्री विपिनकुमार आचार्य, उपसभापति सोविता गौतम र अर्का उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग उठाए। उनीहरूले पार्टी र सरकारमाथि निरन्तर शङ्का गर्ने वातावरण बन्न नदिन पनि घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने धारणा राखेका थिए।
आम नागरिकसमेत यस्ता घटनाबाट त्रासमा पर्ने भन्दै उनीहरूले सरकारले नै निष्पक्ष छानबिन गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने र त्यसका लागि पार्टीले सरकारलाई दबाब दिनुपर्ने बताएका थिए।
प्रधानमन्त्रीलाई बिल्कुलै थाहा थिएन : असिम शाह
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा रास्वपाका सहमहामन्त्री असिम शाहको भनाइलाई पनि बैठकमा विशेष महत्वका साथ हेरिएको थियो। बैठकमा बोल्दै शाहले प्रधानमन्त्रीलाई पत्रकार पक्राउ गर्न सञ्चारमाध्यममा प्रहरी पुगेको विषयमा गम्भीर रूपमा जानकारी नभएको दाबी गरेका थिए
प्रधानमन्त्री शाहले घटनाबारे जानकारी पाउनासाथ पत्रकारहरूलाई छाड्न र तत्काल उक्त कदम रोक्न निर्देशन दिएका थिए।
‘म साथीहरूलाई के जानकारी गराउन चाहन्छु भने प्रधानमन्त्रीलाई सिरियस रूपमा यो विषयमा जानकारी थिएन। जतिबेला प्रधानमन्त्रीलाई जानकारी भयो, उहाँले तत्काल यो कदम अगाडि नबढाउन निर्देशन दिइहाल्नुभयो,’ शाहले बैठकमा भनेका थिए, ‘हामी नै सप्राइज भयौँ। कसरी यस्तो भयो? यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने प्रधानमन्त्रीको पनि कुरा छ।’
शाहले प्रधानमन्त्रीको बचाउ गर्दै यस्ता विषयमा प्रधानमन्त्रीसमेत गम्भीर रहेको बताएका थिए। तर पत्रकार पक्राउ गर्ने क्रममा प्रधानमन्त्री र गृहमन्त्रीबीच समन्वय भएको थियो वा थिएन भन्नेबारे भने उनले बैठकमा स्पष्ट जानकारी गराएनन्।
शाहको भनाइले प्रधानमन्त्रीलाई पत्रकार पक्राउ परेको र सञ्चारगृहमा प्रहरी पुगेको विषयमा जानकारी नभएको दाबीलाई थप बल दिएको बैठकमा सहभागी नेताहरूको बुझाइ थियो।
‘असिमजीको भनाइ सुन्दा त प्रधानमन्त्रीलाई कुनै पनि हालतमा यो जानकारी थिएन भन्ने नै थियो। उहाँले कुरा लुकाएको भन्ने कुनै पनि अवस्थामा देखिँदैनथ्यो। किनभने उहाँहरू आफैँ ‘सप्राइज भयौँ’ भन्ने किसिमले प्रस्तुत हुनुभयो। पक्राउ गरिएको जानकारी प्राप्त गर्नेबित्तिकै प्रधानमन्त्रीले निर्देशन दिएको विषयमा पनि जानकारी गराउनुभयो,’ बैठकमा सहभागी अर्का सचिवालय सदस्यले भने, ‘हामीले प्रधानमन्त्रीलाई नै थाहा नभएको भनिएपछि सम्बन्धित विभागीय मन्त्रीहरूमाथि पनि प्रधानमन्त्रीले निगरानी राख्नुपर्छ अथवा अनुसन्धान हुनुपर्छ भन्ने विषयलाई जोड दिएका छौँ।’
गृहमन्त्री गुरुङमाथि पनि अनुसन्धान गर्न माग
सचिवालय बैठकमा केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री सुदन गुरुङ भने उपस्थित थिएनन्। प्रहरी प्रशासनको नेतृत्व गर्ने गृह मन्त्रालय र प्रहरीलाई आदेश दिने निकायको विभागीय जिम्मेवारी गृहमन्त्रीकै भएकाले अब अनुसन्धानको सुई उनीतर्फ सोझिएको रास्वपाकै नेताहरूको भनाइ छ।
पार्टी प्रवक्ता जगदीश खरेलले पनि शुक्रबारको घटनाबारे सरकारबाट सत्यतथ्य जानकारी आउनुपर्ने पार्टीको माग रहेको बताए। उनका अनुसार रास्वपाले घटनाको निष्पक्ष छानबिनका लागि सरकारलाई दबाब दिइरहेको छ। शनिबारको सचिवालय बैठकको निष्कर्ष पनि यही रहेको उनको भनाइ छ।
प्रधानमन्त्रीले घटनाबारे आफूलाई जानकारी नभएको बताउनु र विभागीय मन्त्रीसमेत यस विषयमा मौन रहनुले गृहमन्त्रीमाथि अनुसन्धान तथा शङ्काको सुई सोझिएको नेताहरू बताउँछन्।
प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका असिम शाहले प्रधानमन्त्रीलाई जानकारी नभएको दाबी गरेपछि बैठकमा सहभागी धेरै नेताहरूले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए।
‘असिमजीले प्रधानमन्त्रीलाई जानकारी नभएको भनेपछि गृहमन्त्री विभागीय मन्त्री भएको हिसाबले उहाँलाई यसबारे जानकारी हुनुपर्ने हो कि भन्ने धेरैले शङ्का गर्नुभएको छ। हामीले सत्यतथ्य बाहिर आउनुपर्छ भन्ने कुरा राखेका छौँ,’ पार्टीका एक शीर्ष नेताले भने, ‘प्रधानमन्त्रीलाई जानकारी भएन भनेर पन्छिन मिल्दैन। विभागीय मन्त्रीसँग उहाँले सोधखोज गर्नुपर्छ र सत्यतथ्य बाहिर ल्याउनुपर्छ भन्ने हामी सबैको मत छ। हामीले पार्टी सभापतिज्यूलाई पनि त्यहीअनुसार प्रधानमन्त्रीसँग कुरा गर्न भनेका छौँ। सभापतिज्यूले पनि म यस विषयमा गम्भीर छु, कानुनको पालना सबैले गर्नुपर्छ, संविधान सबैले मान्नुपर्छ भन्ने विषयमा स्पष्ट छु भन्नुभएको छ।’
शनिबारको बैठकमा प्रधानमन्त्रीको भूमिकामाथि पनि केही नेताहरूले प्रश्न उठाएका थिए। तर प्रधानमन्त्रीको तुलनामा गृहमन्त्री सुदन गुरुङको भूमिकामाथि बढी शङ्का व्यक्त गरिएको थियो।
बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी नभएको अवस्थामा सम्बन्धित विभागीय मन्त्रीलाई यसबारे जानकारी थियो कि थिएन भन्ने प्रश्न उठाएका थिए।
जवाफमा रविले आफूले सम्बन्धित निकायलाई घटनाबारे जानकारी गराइसकेको र यसको सत्यतथ्य बाहिर आउनुपर्ने आवाज उठाएको बताएका थिए।
त्यसपछि बैठकमा सहभागी सबैजसो नेताहरूले पत्रकार र सञ्चारगृहमाथि भएको धरपकड तथा पक्राउको घटनाबारे सरकारले नै स्पष्ट रूपमा छानबिन गर्नुपर्ने माग राखेका थिए।
पार्टी प्रवक्ता खरेलले पनि सञ्चारगृहमाथि यस किसिमका गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए।
खरेललाई प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीचको सम्बन्ध चिसिएको परिणामस्वरूप यस्तो घटना भएको हो कि भन्ने प्रश्न गरिएको थियो।
तर, उनले दुई नेताबीचको सम्बन्ध नचिसिएको र नियतमा कुनै खोट नरहेको जवाफ दिए। प्रधानमन्त्रीलाई नै घटनाबारे जानकारी नभएको भनिएपछि आफूहरूले निष्पक्ष छानबिनको माग गरेको उनको भनाइ थियो।
गृहमन्त्रीको भूमिकाबारे प्रश्न गर्दा भने खरेल स्पष्ट जवाफ दिनबाट पन्छिए। उनले सम्बन्धित विभागीय मन्त्रीले पनि यसबारे जानकारी दिनुपर्ने भन्दै त्यसको जवाफ आउने प्रतीक्षामा रहेको बताए।
गृहमन्त्री चुपचाप
अन्य नेताहरू पक्राउ पर्दा सामाजिक सञ्जालमार्फत तत्काल प्रतिक्रिया दिने र घटनाबारे जानकारी गराउने गरेका गृहमन्त्री सुदन गुरुङ भने पत्रकारहरू पक्राउ परेको विषयमा अहिलेसम्म मौन छन्।
गृह मन्त्रालयका विभिन्न आधिकारिक माध्यममा समेत यस घटनाबारे कुनै सूचना वा स्पष्टीकरण सार्वजनिक भएको छैन। गृहमन्त्रीको सचिवालयका सदस्यहरू पनि यसबारे अनभिज्ञजस्तै देखिएका छन्।
यद्यपि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले पत्रकारहरूसँग संवाद हुने ह्वाट्सएप समूहमा एउटा सन्देश जारी गरेका छन्। उक्त सन्देशमा उनले पत्रकारहरूलाई बोलाउनुको कारण खुलाउँदै सञ्चारमाध्यममा निरन्तर एउटा विषय प्रचार भइरहेकाले त्यसप्रति प्रधानमन्त्री कार्यालयले चासो देखाएको उल्लेख गरेका छन्।
प्रवक्ता काफ्लेको सन्देशमा भनिएको छ, ‘हालका दिनमा नेपाल प्रहरीविरुद्ध गलत समाचार तथा सन्देशहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निरन्तर प्रचार भइरहेको विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो। त्यसैप्रति क्रियाशील हुँदै पत्रकारहरूलाई बोलाइएको हो।’
तर गृह मन्त्रालय र गृहमन्त्रीले अहिलेसम्म यसबारे कुनै जवाफ नदिनुले उनको भूमिकामाथि प्रश्न उठाउने ठाउँ रहेको वरिष्ठ पत्रकार हरिबहादुर थापा बताउँछन्।
थापाका अनुसार गृहमन्त्रीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठाउने ठाउँ रहेकाले यस्ता गतिविधि हुन नसक्ने अवस्था नरहेको बताउँछन्। पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनामा गृह मन्त्रालयको जिम्मेवारी र गृहमन्त्रीको भूमिकाबारे स्पष्ट जवाफ आउनुपर्ने उनको भनाइ छ।
यसरी रास्वपा सचिवालय बैठकमा प्रधानमन्त्रीलाई घटनाबारे जानकारी नभएको दाबीपछि छलफलको केन्द्रमा गृहमन्त्री गुरुङको भूमिका परेको छ।
अब घटनामा प्रहरी कसको निर्देशनमा परिचालित भयो, प्रधानमन्त्री र गृहमन्त्रीबीच समन्वय भएको थियो कि थिएन र पत्रकारहरूलाई नियन्त्रणमा लिनुको वास्तविक कारण के थियो भन्ने प्रश्नको जवाफ छानबिनबाट खोज्नुपर्ने देखिएको छ।


प्रतिक्रिया