काठमाण्डु – अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको खोप सोमबार बिहान काठमाण्डु आइपुग्ने भएको जानकारी दिएका हुन ।
गत महीना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।
त्यस्तै शुक्रबार बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै १५ लाख ३४ हजार डोज कोरोनाविरूद्धको खोप नेपाल पठाउन लागेको जानकारी दिएको थियो ।
अहिलेसम्म नेपालमा भारत र चीनबाट ल्याइएका खोप दुई डोज लगाउनु पर्ने खालका छन् । तर, जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्ने विज्ञहरुले बताएका छन् ।
१५ लाख ३४ हजार ८५० डोज खोप आउने पक्का भएपछि स्वास्थ्य मन्त्रालयले आयात अनुमतिका लागि औषधि व्यवस्था विभागमा पत्रसमेत पठाएको थियो।
प्रतिक्रिया