अमेरिकाले भन्यो- एमसीसीको ‘व्याख्यात्मक घोषणा’लाई नोट गरेका छौं


काठमाण्डु – नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको बताएको हो ।

टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिकबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको स्मरण गरेका थिए । दुई देशका नेताबीच युक्रेन संकटलगायतका विषयमा छलफल भएको थियो । विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले अकारण, अनुचित र नियोजित हमला गरेको बताएका थिए ।

यता प्रधानमन्त्री शेरबहादुर देउवाले भने अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताएका छन् । उनले मंगलबार राति अमेरिकी विदेशमन्त्रीसँग भएको टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको बताएका हुन् ।

‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिको लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौं,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ता प्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौं ।’

टेलिफोन अमेरिकी विदेशमन्त्रीले गरेका थिए । टेलिफोनमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement