काठमाण्डु – जनवरी २० मा अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको आगमन भएसँगै काठमाण्डुमा राजनीतिक सक्रियता बढेको छ । नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरीले बाइडेन प्रशासनको आगमन भएसँगै काठमाण्डुमा राजनीतिक भेटवार्तालाई तिव्रता दिएका हुन् ।
माघ ७ गते शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति बाइडेनले अमेरिकाले बाह्य मित्रहरूसँगको सम्बन्धलाई पहिलेकै अवस्थामा फर्काउने बताएका थिए । डोनाल्ड ट्रम्प प्रशासनको समयमा बिग्रिएका सम्बन्धलाई ‘रिपियर’ गर्ने उनले बताएको भोलीपल्टबाट नेपालमा राजदूत बेरीको राजनीतिक भेटवार्ता बाक्लिएको हो ।
गते गते माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटवार्ता गरे । उक्त भेटवार्तामा राजदूत बेरीले नयाँ अमेरिकी प्रशासन नेपालसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरे ।
‘अमेरिकामा बाइडेन नयाँ राष्ट्रपति भएको घोषणासँगै नयाँ राष्ट्रपतीय प्रशासनले नेपाल साथै अन्य राष्ट्रसँग कुनै एक्लो राष्ट्र मात्रैले जुध्न नसकिने जलवायु परिवर्तनदेखि कोभिड–१९ जस्तो विश्व स्वास्थ्य संकट जस्ता हाम्रा साँझा चुनौतीबारेमा छलफल गर्न मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटें’, उनले भनेका थिए ।
त्यसको चार दिनपछि अर्थात माघ १२ गते राजदूत बेरीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरे ।
‘राष्ट्रपतीय प्रशासन आएपछिको उक्त प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्न नेपाली सरकारी तथा राजनीतिक नेतृत्वहरूसंगको आफ्नो भेटघाटको क्रममा राजदूत बेरीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याउनुभएको थियो ।’
साथै राजदूत बेरीले माघको १३, १४ र १५ गते क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र गृहमन्त्री राबहादुर थापा बादलसँग भेटवार्ता गरे ।
राष्ट्रपतिसँगको भेटावार्तापछि राजदूत बेरीले भनेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनले संसारभर लोकतन्त्रहरूको पुनः संरक्षण र सुदृढीकरण गर्न कसरी काम गर्दछ भन्ने सन्देश, महिला र युवतीहरूको अधिकारको उत्थानमा केन्द्रित हुनेछ ।’
उनले यी सबै भेटवार्तालाई नयाँ अमेरिकी राष्ट्रपति आगमनसँगै विभिन्न विषयहरुमा मिलेर काम गर्न चाहेको बताएका छन् । तर, भित्रि कुरा उनले खुलाएका छैनन् । राजनीतिक विश्लेषकहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न अमेरिकी राजदूतको सक्रियता बढेको पाइएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा अमेरिका, भारत, बेलायतलगायतका प्रजातन्त्रिक मुलुकहरुले कुनै प्रतिक्रिया नजनाएको र प्रधानमन्त्री ओलीलाई नै साथ दिएको चर्चा भइरहेका बेला अमेरिकी राजदूतको सक्रियता बढेको हो । नेकपाका अध्यक्ष प्रचण्डले त भारत र अमेरिकाप्रति संकेत गर्दै संविधान मिचिदा र हुंदै नभएको अधिकार प्रयोग गरेर संसद विघठन गरिंदा समेत कोही नबोलेको भन्दै असन्तुष्टि जनाएका थिए ।
बेरीको उक्त राजनीतिक भेटवार्ता लामो समयदेखी रोकिएको अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी), हिन्द–प्रशान्त रणनीति, द्वन्द्वकालीन घटनालगायतका विषय कार्यान्वयन गर्नु रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ । नेपालमा लामो समयदेखी भइरहेको एमसीसीबारे विवाद मिलाउन अमेरिका प्रयत्नशील छ । तर, सत्तारुढ दल नेकपाभित्रै दुई समूह विभाजित भएपछि एमसीसी कार्यान्वयन अलमलमा परेको हो ।
एमसीसी कार्यान्वयनमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सकारात्मक भएपछि प्रचण्ड–नेपाल समूहले असन्तुष्टी राख्दै आएको छ । सडक र ऊर्जा पूर्वाधार निर्माणसम्बन्धी परियोजनाका लागि एमसीसीले नेपाललाई करिब ५५ अर्ब रुपैयाँ अनुदान दिने सम्झौता सन् २०१७ मा तत्कालिन कांग्रेस सरकारको पालामा भएको थियो ।
त्यस्तै अमेरिकाले नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वका घटनामा विशेष चासोका साथ हेरिरहेको छ । अमेरिकाले मानव अधिकार सम्बन्धी विभिन्न अन्तराष्ट्रिय कार्यक्रमहरुमा द्वन्द्वको विषयलाई प्रमुखताका साथ उठाइरहेको छ । यसरी हेर्दा अमेरिकाले नेपालमा एमसीसी कार्यान्वयन, सशस्त्र द्वन्द र हिन्द–प्रशान्त रणनीतिको मुद्दालाई प्रमुख चासोका रुपमा लिएको पाइन्छ ।




प्रतिक्रिया