काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगभग दुई तिहाई मत पाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
गत विहीबार भएको निर्वाचनबाट सबैभन्दा ठुलो दल बनेको रास्वपाकै नेतृत्वमा आगामी सरकार बन्ने निश्चितछ ।
रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि बढाएपछि उनकै नेतृत्वमा सरकार बन्न लागेको हो ।
रास्वपाले अब बालेनलाई नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाउनेछ । मंगलबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ भने बुधबार समानुपातिकतर्फको मतगणना पनि सकिएको हो ।
रास्वपाको सरकार बन्ने भएसँगै पार्टीका शीर्ष नेताहरू सरकार गठनको तयारीमा जुटेका हुन् । उनीहरूले बालेनलाई प्रधानमन्त्री र विभिन्न क्षेत्रमा विज्ञता हासिल सांसदहरुलाई मन्त्री बनाउने आन्तरिक तयारी थालेका हुन् ।
भावी सरकारको स्वरूपबारे बिहीबार नै रास्वपाका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले छलफल गर्दैछन् ।
रास्वपाका एक नेताका अनुसार रवि–बालेनको छलफले भावी सरकारको स्वरूप र मन्त्रिपरिषद् गठनका विषयमा केन्द्रित रहनेछ ।
रास्वपाले चैत ५ गतेसम्म आफ्नो संसदीय दलको नेता चुन्ने तयारी गरिरहेको छ ।
रास्वपाले बालेनलाई संसदीय दलका नेता चुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
आयोगले राष्ट्रपति पौडेलसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझापछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न बाटो खुल्नेछ ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सभापति लामिछाने र वरिष्ठ नेता बालेनबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको बताइन् ।
‘सभापति र वरिष्ठ नेताबीच निरन्तर कुराकानी भइरहेको छ । सभापति बिरामी भएकाले गम्भीर छलफल हुन सकेको थिए । आजपनि उहाँहरू भेट्दै हुनुहुन्छ’, रावलले भनिन् ।
यसबीच रास्वपाको सरकार बन्ने निश्चित भएपछि बालेन अहिले समानुपातिकतर्फको क्लस्टर मिलाउन आन्तरिक छलफलमा छन् ।




प्रतिक्रिया