प्रधानमन्त्री शाहको भारत भ्रमण : तयारीका लागि भारतीय विदेश सचिव मिस्री कात्तिक १८ गते आउँदै

प्रधानमन्त्री शाहको भारत भ्रमण : तयारीका लागि भारतीय विदेश सचिव मिस्री कात्तिक १८ गते आउँदै

कार्यभार सम्हाल्न राजदूत दलेला पनि आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री वालेन शाहको भारत भ्रमणको तयारीका सन्दर्भमा भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक निम्तो दिन र भ्रमणको अन्य तयारीका लागि भारतीय विदेश सचिव मिस्री नेपाल आउने लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मिश्री तीनदिने भ्रमणका लागि कात्तिक १८ गते काठमाण्डु आइपुग्नेछन्।

प्रधानमन्त्री वालेन्द्र शाहले मंसिर ६ गते अर्थात् नोभेम्बर २२देखि भारत भ्रमण गर्ने तय भएको छ । गत चैत १३ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता शाहले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्न लागेका हुन्।

भ्रमणको औपचारिक घोषणा भने विदेश सचिव मिस्री काठमाण्डुबाट फर्किएपछि दुवै देशले गर्नेछ । मिस्रीले प्रधानमन्त्री शाहलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन्।

भारतीय विदेश सचिव मिस्री केही महिनाअघि नै नेपाल आउने तयारी थियो । उनको अन्तिम समयमा भ्रमण रोकिएको थियो । प्रधानमन्त्री बालेनसँग भेटवार्ताको समय तालिका निश्चित नभएपछि मिस्रीको भ्रमण रोकिएको थियो ।

यसबीच मिस्रीको नेपाल भ्रमणको एकदिन अघि कात्तिक १७ गते नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाण्डु आउँदैछन् ।

निवर्तमान राजदूत नवीन श्रीवास्तवले तीन वर्षे कार्यकाल पूरा गरेपछि भारतले दलेलालाई नेपालका लागि राजदूतमा नियुक्त गरेको हो । दलेला नेपाल र भुटान मामिलाका जानकार तथा अनुभवी कूटनीतिज्ञ मानिन्नछन् ।