अमेरिका-पाकिस्तान वार्तामा घुस्यो कश्मीर मुद्दा, भारतमा तरङ्ग


काठमाडौं – भारत-पाकिस्तानबीच द्वन्द्वको कारण बन्ने गरेको विवादित सीमावर्ति भूमि कश्मीरबारे पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन् । द्विपक्षीय भेटमा ट्रम्पले भारत–पाकिस्तानबीच मध्यस्तता गर्न इच्छा जाहेर गरेका छन् । प्रधानमन्त्री खानले अमेरिकामा कश्मीर मुद्दा उठाएपछि भारतमा तरङ्ग उत्पन्न भएको छ । पछिल्लो समय भारत–पाकिस्तान विवाद बढेको छ । दुवै देशबीच वार्ता समेत रोकिएका छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री खानलाई ट्रम्पले महत्त्व दिनुका साथै कश्मीर मुद्दामा मध्यस्तता गर्ने इच्छा जनाएका छन् । यसबाट पाकिस्तानलाई हेर्ने दृष्टिकोणमा अमेरिकाले परिवर्तन गरेको हुनसक्ने विश्लेषण हुन थालेको छ । यसअघि अमेरिकाले पाकिस्तानलाई आतंककारीको संरक्षण गरेको आरोप लगाउने गरेको थियो ।

प्रधानमन्त्री खान र ट्रम्पबीच ह्वाइट हाउसमा भएको यो पहिलो भेट हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तान सम्बन्ध सुधारका विषयमा खानसँग छलफल गरेका छन् । ट्रम्प–इमरानबीच भएको वार्ताको आधिकारिक प्रेस विज्ञप्तिमा भने कश्मीरको विषय उल्लेख गरिएको छैन । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि ट्रम्पको कश्मीर मुद्दामा छलफल हुने गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भेटमा खानले ट्रम्पलाई भनेका छन्, ‘अमेरिका दुनियाँको सबैभन्दा शक्तिशाली देश हो, यसले उपमहाद्वीपमा शान्ति कायम गर्न योगदान दिन सक्छ । कश्मीर मुद्दामा समाधान दिन सक्छ । हामीले भारतसँग वार्ताका लागि हरसम्भव प्रयास गरेका छौं ।’ खानले वार्ताको प्रयास गरेको भनेपनि भारत–पाकिस्तानबीच पछिल्लो समय वार्ता हुन सकेको छैन भने विवाद बढ्दै गएको छ ।

जवाफमा ट्रम्पले भनेका छन्, ‘दुई हप्ताअघि प्रधानमन्त्री मोदीसँग मेरो कुराकानी भएको थियो । यो मुद्दामा हाम्रो कुराकानी भएको थियो र उहाँले भन्नुभएको थियो कि तपाई मध्यस्त बन्न सक्नुहुन्छ, विवाद ७० वर्षदेखि कायम छ, यसमा कसैले मध्यस्त गर्न सकेमा हामी खुशी हुनेछौं ।’ ट्रम्पले भारत–पाकिस्तानको विवाद समाधान हुनुपर्नेमा जोड दिएका छन् । कश्मीर दुवै देशको सुन्दर र रमणीय सीमा क्षेत्र हो । तर सीमा विवादका कारण त्यहाँ हिंसा र अशान्ति फैलिएको छ ।
ह्वाइट हाउसबाट जारी विज्ञप्तिमा ‘कश्मीर’ उल्लेख नभएपनि दक्षिण एसिया क्षेत्रमा शान्ति सुरक्षा र स्थिरता कायम गर्नका लागि अमेरिकाले पाकिस्तानलाई सहयोग गर्ने भनिएको छ ।

भारतमा तरङ्ग
खान–ट्रम्प भेटमा भएको कुराकानीले भारतमा तरङ्ग उत्पन्न भएको छ । ट्रम्पले कश्मीर विवादमा मध्यस्तता गर्ने इच्छा देखाएपछि जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले सरकारसँग जवाफ मागेका छन् । भारतीय कांग्रेस नेता शशि थरुरले ट्रम्पको भनाइमा शंका लागेको बताएका भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सले लेखेको छ । नेता थरुरले भने, ‘मलाई लाग्छ कि ट्रम्पले आफूले बोलेको कुराको सामान्य अनुमान समेत गर्न सकेनन् । कि त प्रधानमन्त्री मोदीले ट्रम्पलाई सही व्याख्या गर्न सकेनन् कि त उनले बुझेनन् । कश्मीरमा तेस्रो पक्ष मध्यस्तताबारे भारतको धारणा अमेरिकालाई थाहा हुनुपर्ने हो । भारतले अमेरिकी मध्यस्तता माग नगरेकोबारे विदेश मन्त्रालयले स्पष्ट गर्नुपर्छ ।’

भारत तेस्रो पक्ष मध्यस्तताको विपक्षमा रहेको नवभारत टाईम्सले लेखेको छ । तर पाकिस्तानले अमेरिकालाई मध्यस्तताका लागि उक्साइरहेकाले भारतमाथि दबाब परेको छ । विश्व शक्तिराष्ट्र अमेरिकाले नै मध्यस्तता गर्ने भनेर माहोल बनाउन थालेपछि भारत सशंकित समेत बनेको छ । पूर्व मुख्यमन्त्री अब्दुल्लाले सोधेका छन्, ‘के भारत सरकार ट्रम्पको भनाईलाई झूटा भन्न सक्छ वा सरकारले नीति अघोषित रुपमा परिवर्तन भइसक्यो र तेस्रो पक्ष मध्यस्ततामा राजी भइसक्यो ?’

प्रधानमन्त्री खानले अमेरिकामा पाकिस्तानी सेना प्रमुख जावेद बाजवा, गुप्तचर संस्था आईएसआई प्रमुख फैज हमीद र विदेशमन्त्री शाह महमूद कुरैशीसँगै ट्रम्पसँग भेटवार्ता गरेका हुन् । ट्रम्पसँग भेटपछि विदेशमन्त्री कुरैशीले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानका प्रधानमन्त्री नयाँ पाकिस्तानको भिजन पेश गर्न अमेरिकामा हुनुहुन्छ, हामी अमेरिकासँग द्विपक्षीय सम्बन्धको नयाँ यात्रा शुरू गर्न चाहन्छौं । हामी क्षेत्रीय शान्ति र सद्भावका लागि काम गर्न चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement