अमेरिका र युक्रेनबीच ३० दिने अस्थायी युद्धविराम, ट्रम्प र पुटिनले यसै साता वार्ता गर्ने

अमेरिका र युक्रेनबीच ३० दिने अस्थायी युद्धविराम, ट्रम्प र पुटिनले यसै साता वार्ता गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति भएको छ । साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको उच्चस्तरीय वार्तामा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः शुरू गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने बताएपछि युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको हो ।

आठ घण्टा लामो बैठकपछि मंगलबार जेलेन्स्कीले यो प्रस्तावलाई सकारात्मक भनेका छन्। उनले रुसलाई सहमत गराउन अमेरिकाले भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गरेका छन् ।

बैठकपछि अमेरिकाले युक्रेनसँगको संयुक्त विज्ञप्तिमा गुप्तचर साझेदारीको रोक हटाउने र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।

एक युक्रेनी अधिकारीले सहयोग फेरि शुरू भएको पुष्टि गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अब युद्ध अन्त्य गर्ने जिम्मेवारी रुसको भएको बताउँदै अमेरिका शान्तिको आशा गरेको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कदमको स्वागत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसै साता कुरा गर्ने जनाएका छन् ।

यो वार्ता रुसले कुस्र्क क्षेत्रमा अघि बढिरहेको समयमा भएको हो, जहाँ युक्रेनले गत अगस्टमा आक्रमण गरेको थियो । युक्रेनले युद्धविराममा हवाई र समुद्री आक्रमण रोक, कैदी रिहाइ र युक्रेनी बालबालिकाको फिर्ता पनि समावेश गरेको छ । दुई देशका अधिकारीहरू युक्रेनको अर्थतन्त्र र सुरक्षाका लागि दुर्लभ खनिज सम्झौतामा पनि सहमत भएका छन् ।

युरोपेली संघ र बेलायतले यो सम्झौतालाई सकारात्मक कदम भन्दै स्वागत गरेका छन् । अन्य देशहरूले रुसको सहभागितालाई निर्णायक मानेका छन् ।

ट्रम्पले पुटिनसँगको छलफलले युद्धविराम चाँडै लागू हुने आशा व्यक्त गरेका छन् ।