अमेरिकी सर्वोच्च अदालतमा क्याभाना नियुक्त


वासिङ्टन- विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त भएका छन । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो ।

न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ । सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बाहिर क्याभानाको विपक्षमा रहेकाहरुले नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

न्यायाधीश क्याभानाले आफूमाथि स्कुले जीवनमा यौनशोषण गरेको भन्दै प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले संसदको न्यायिक समितिमा स्वयं उपस्थित भएर बयान दिएका थिए । तर क्याभानाले उक्त आरोप असत्य रहेको र त्यो आफ्नो चरित्र हत्या गर्ने कुत्सित मनसायबाट प्रेरित रहेको बताउँदै आएका छन।

सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोप बारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईलाई जिम्मा दिइएको थियो ।

न्यायाधीश क्याभानाको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गरेका हुन । उनले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आएका थिए । राष्ट्रपति ट्रम्पले क्याभानाको अनुमोदन लगत्तै चुनावी सभामा सम्बोधन गर्दैै “यो अमेरिकी जनताको जीत भएको” जनाएका छन ।

अनुदारवादी भनेर चिनिएका क्याभानाको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरु आजीवन सो पदमा रहन पाउँछन् । न्यायाधीश क्याभानाको पक्षमा भएको यो मतदानले आगामी नोभेम्बरमा हुने अमेरिकी सिनेटको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई थप मद्दत पुग्ने अपेक्षा समेत गरिएको छ ।

केन्टुकी राज्यबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मिच म्याककोनेलले यो विजयले रिपब्लिकनको मत बढेको दाबी गरे । तर डेमोक्रेटिक पार्टीका नेता चुक शुमरले न्यूयोर्कमा भे “जनताले परिवर्तन चाहेका छन्, र त्यो मतदानका दिन देखिने छ ।”  एपी \एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement