स्वदेश फर्किए कतारका राजा


काठमाण्डु- कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका हुन् ।

सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी मंगलवार नेपाल आएका थिए ।

कतारका अमिरले सोही दिन साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका थिए ।  भेटवार्तापछि राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही दिन साँझ राजकीय भोजको आयोजना गरेका थिए ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्ताका क्रममा दुईदेशबीच आपसी सहकार्यसम्बन्धी विभिन्न विषयमा समझदारी भएको छ ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा सन् २०११ अगष्टमा राजदुतावास स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement