अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’का काम धमाधम

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’का काम धमाधम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा सम्याउने (ल्याण्ड फिलिङ) र बाहिरी पर्खाल निर्माणको काम तीव्र पारिएको छ।

परियोजना प्रमुख एवं नेपाल आयल निगमका निर्देशक प्रदीपकुमार यादवका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत अन्तिम चरणमा पुगेको हो।

लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रीनफिल्ड टर्मिनल निर्माण गरिनेछ।

अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो १०.७५ इन्च व्यासको पाइपलाइन बिछ्याइनेछ। पाइपलाइन पूर्वपश्चिम राजमार्गको समानान्तर रहनेछ भने हेटौँडा बजार क्षेत्रमा बाइपास गरिने डिजाइन तयार भएको निगमले जनाएको छ।

पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर इन्धन लोथरसम्म आपूर्ति गर्न सकिनेछ। परियोजना सम्पन्न भएपछि लोथरमा ठूलो क्षमताको भण्डारण गृहसहित नयाँ डिपो सञ्चालनमा आउनेछ।

लोथरमा पेट्रोलका लागि ११ हजार किलोलिटर क्षमताका तीन, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन, मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका दुई तथा हवाई इन्धनका लागि तीन हजार ६०० किलोलिटर क्षमताका तीन ट्याङ्की निर्माण गरिनेछ। नयाँ डिपोमा कुल ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ।

परियोजनाको जग्गा व्यवस्थापन र बाहिरी पर्खाल निर्माणको जिम्मा मोतीदान कन्स्ट्रक्सनले पाएको छ। करिब ७९ करोडको ठेक्का पाएको कम्पनीले आठ–नौ महिनामै काम सक्नेगरी निर्माणलाई तीव्रता दिएको जनाएको छ।

हवाई इन्धन पनि पाइपलाइनबाट

लोथरमा हवाई इन्धन भण्डारणका लागि संरचना निर्माण भएपछि हवाई इन्धनसमेत पाइपलाइनबाटै ल्याउन सकिनेछ। हाल भारतको बरौनीबाट करिब ४०० किलोमिटर दूरी पार गरेर ट्यांकरमार्फत हवाई इन्धन ल्याइँदै आएको छ।

पाइपलाइनबाट हवाई इन्धन आपूर्ति भएपछि प्रतिलिटर करिब रु ५ ढुवानी खर्च बचत हुने र वार्षिक करिब २ अर्ब बराबरको ढुवानी खर्च जोगिने निगमको अनुमान छ।

पाइपलाइनसहित भण्डारण गृह निर्माणको कुल लागत रु १४ अर्ब ९ करोड ६० लाख अनुमान गरिएको छ। निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने सम्झौता भए पनि अबको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख यादवले बताएका छन्।

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्मको ६९ दशमलव २ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन २०७६ सालदेखि सञ्चालनमा छ। उक्त पाइपलाइनबाट हाल पेट्रोल, डिजेल र मट्टितेल आयात हुँदै आएको छ।

अमलेखगन्ज–लोथर परियोजना सम्पन्न भएपछि नेपालका पश्चिमी तथा उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्ति अझ सहज हुने अपेक्षा गरिएको छ।