काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको गुनासो गरे ।
प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उनले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको आरोप लगाए ।
सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरूलाई नै पाखा लगाएमा सरकार तासको घर जस्तै ढल्ने चेतावनी दिए ।
सांसद सिंहले गृहमन्त्रीले राज्यको चौथो अंगका रूपमा रहेका पत्रकार तथा सञ्चारकर्मीहरूलाई धम्क्याइएकोप्रति कडा विरोध गर्दै गल्ती भए कारबाही गर्ने तर धम्कीको शासन नचलाउन सुझाव दिए ।
सरकार संसद्प्रति पूर्णउत्तरदायी हुनुपर्ने र सांसदहरूले जनताको तर्फबाट ‘वाच डग’को रूपमा खबरदारी जारी राख्नुपर्ने उनले बताए ।




प्रतिक्रिया