काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको नभई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उनलाई बर्खास्त गरेको दाबी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले यादवलाई बर्खास्त गरिएको बताए ।
आफूले केही बेरअघि मात्र यादव रुँदै बाहिरिएको भिडियोमा देखेको सिंहले उल्लेख गरे ।
यादवको राजीनामा र यसअघि दीपक साहको बर्खास्तीलाई मधेसीमाथिको प्रहारको संज्ञा दिए ।
‘चाहे दीपक साहको बर्खास्तीको कुरा होस् वा गौरीकुमारीको राजीनामा । यो राजीनामा होइन, बर्खास्त गरिएको हो । किनकि रुँदै निस्किएको मैले भर्खर भिडियोमा देखेको छु,’ उनले भने ।
सिंहले यसअघि नै प्रधानमन्त्री शाहले मन्त्री यादवलाई पक्राउ गर्न प्रहरी पठाएको दाबीसमेत गरे । त्यसै दिन यादवले मन्त्री पदबाट राजीनामा नदिएर गल्ती गरेको उनको टिप्पणी थियो ।
‘माननीय गौरीकुमारी यादवले त्यही दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन प्रहरी परिचालन गरिएको थियो,’ उनले भने ।
प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीलाई मन्त्री बर्खास्त गर्ने अधिकार भए पनि मन्त्रीलाई पक्राउ गर्न प्रहरी परिचालन गर्नु गम्भीर विषय भएको सिंहको भनाइ थियो ।
‘प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीको अधिकार हुन्छ । जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्छन्, उहाँलाई चित्त बुझेन भने । तर प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई पक्राउ गर्न । या सचिवालयले पठाउँछ । यो सचिवालयका केही साथीहरूको कुरा सुन्दा म आफैं अचम्ममा पर्छु– म कुन देशको सांसद हुँ ?’ सिंहले भने ।
सिंहले पूर्वानुमान गरेरै आफूले मन्त्री पद अस्वीकार गरेको बताए ।




प्रतिक्रिया