काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले हिंसा नभइ विकासको बाटो रोज्न अपिल गरेका छन्।
रास्वपा सांसद सिंहले समाजिक सञ्जालमार्फत मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक तनावका घटनाले प्रदेशको सामाजिक सद्भाव मात्र नभइ समग्र विकास यात्रालाई समेत गम्भीर रूपमा प्रभावित पार्दै आएकाले मधेशवासीलाई शान्ति, एकता र विकासको साझा एजेन्डामा अघि बढ्न आग्रह गरेका हुन्।
विभिन्न समयमा भएको आन्दोलन र हिंसात्मक गतिविधिका कारण भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक गतिविधि अवरुद्ध हुने, व्यापार–व्यवसाय ठप्प हुने तथा लगानीको वातावरण कमजोर बन्ने जस्ता समस्याले मधेशलाई वर्षौं पछाडि धकेल्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन्।
मधेसमा हुँदै आएको यस्ता घटनाले सबैभन्दा ठूलो क्षति आम नागरिक र समग्र मधेशलाई नै पुग्ने भएकाले अब हिंसा र द्वन्द्वको राजनीति त्यागेर विकासको मार्ग रोज्न उनले आग्रह गरेका छन्।
सामाजिक सद्भाव, आपसी विश्वास र साझा विकास नै समृद्ध मधेश निर्माणको आधार भएको उल्लेख गर्दै उनले सबै आमा–बुवा, दाजुभाइ, दिदीबहिनी तथा युवालाई शान्ति, सहिष्णुता र विकासको अभियानमा एकजुट हुन आह्वान गरेका छन्।




प्रतिक्रिया