कांग्रेसमा वैश्विक चेतना भएको नेतृत्व आवश्यक छः अमृत ज्ञवाली (अन्तर्वार्ता)


काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ नेतृत्वका लागि पार्टीभित्र रस्साकस्सी चलिरहेको छ । पुस्ताहस्तान्तरणको बिषय पेचिलो बनेपनि यो महाधिवेशनबाट पाका अनुहारले नै नेतृत्व लिने पक्कापक्कि जस्तै छ ।

युवाहरु नेतृत्वमै दावी गरेपनि बार्गेनिङ गरेर सहमहामन्त्रीमा चित्त बुझाउनुको विकल्प नभएको विश्लेषण पनि हुन थालेको छ । कांग्रेसमा नेतृत्व पुस्तान्तरणको बहस चलिरहेका बेला हामीले कांग्रेस महासमिति सदस्य इ.अमृत ज्ञवालीसंग कुराकानी गरेका छौँ । प्रस्तुत छ कांग्रेसको महाधिवेशन केन्द्रीत भएर उनै ज्ञवालीसँग गरिएको कुराकानीको सम्पादित अंशः

१४ औं महाधिवेशनले नयाँ नेतृत्वको अपेक्षा गरिएको छ । अब कांग्रेस कस्तो बन्नुपर्छ ?

पार्टी भनेको समाज र व्यक्तिले कसरी लिन्छ भने एउटा संगठित आकार भएको त्यस्तै निर्दिष्ट बिचारहरु बोकेको समाजलाई यहाँसम्म पुर्याउन सक्छ भन्ने धेय राखेको र त्यो धेयलाई नेतृत्व गर्ने नेता भएको समष्टी रुप नै पार्टी हो । त्यही पार्टी एउटा एतिहासिक आवश्यकताको हिसावले विकास हुन्छ । दोस्रो कुरा भइरहेको परिस्थितिबाट सन्तुष्ट नभएपछि पार्टीहरुको जन्म भएको देखिन्छ । नेपाली कांग्रेसको महाधिवेशनको पूर्व सन्ध्यामा उभिएर मैले यसो भनिरहँदा नेपाली कांग्रेस नेतृत्व विचार र संगठनको आयाममा परिस्कृत र समुदायको भावलाई स्वीकारेर अघि लैजाने खालको पार्टी बन्नुपर्छ ।

तपाईले भनेजस्तो पार्टी बनाउन कस्तो नेतृत्व आउनुपर्ला ?

नेतृत्वको बिषय कस्तो छ भने नेतृत्व अनेकन प्रकारले त्यसको रुपरेखा बाहिर आउने गर्दछ । कुनै नेतृत्व आन्दोलनको मैदानबाट आयो, कुनै नेतृत्व वैचारीक फाँटबाट आयो, कुनै नेतृत्व पार्टीमा लामो समयसम्म लगानीको प्रतिफलस्वरुप आयो । यसरी हेर्दाखेरी हामीले नेपालमा के देख्यौ भने जस्तो विपी कोइराला, शुर्वण जी, गणेशमान जी, किसुन जीदेखी गिरिजाप्रसाद कोइरालासम्म एउटा आन्दोलनको एउटा चेतनाको एउटा विद्रोहको मानकबाट नेतृत्व आएको देखिन्छ । आजको दिनमा पञ्चायतको सेरोफेरोमा विपी कोइराला, शुर्वण जी, गणेशमान जी, किसुन जीपछिको अर्को पुस्ता जुन अहिले नेतृत्वमा छ । यो नेतृत्वले प्रतिस्पर्धात्मक विश्वमा नेतृत्व गर्न नसकेको हामीलाई लागेपछि हामीले भन्नुपर्ने कुरा के छ भने आजको नेतृत्वमा वैश्विक चेत भएको हुनुपर्छ, नैतिक मुल्य–आजको दिनमा एउटा नेता देख्ने वित्तिकै उसको प्रतिकृया के छ ? यो नेता हो यसले जे कुरा गरिराख्छ यो सत्यको बाटोमा छैन, अथवा उसले हरेक विन्दुमा तपाइलाई ढाँट्न सक्छ भन्ने जुन पर्या त्यो नैतिकतामा ह्रास आएर हो, नैतिक मुल्य भएको, वैश्विक चेतना भएको, प्रतिस्पर्धा गर्न सक्ने र दुनियाँमा विपक्षी पार्टीहरुले जे भ्रम छरेका छन् त्यसलाई चिरेर अगाडी बढ्न सक्ने नेता आवश्यक छ ।

यति धेरै कुरा गर्नुभयो तर, कांग्रेसले नीतिका बिषयमा छलफल नै गरेन अनि तपाई युवाहरुले पनि नीतिमा छलफल गर्नुपर्छ भन्नु भएको छैन ?

यसमा नढाँटी भनौं । तपाइलाई, आजको मौजुदा कांग्रेसको निर्वाचनको कार्यक्रम हेर्नुभयो भने उद्धाटन त्यसपछि निर्वाचनकै कार्यक्रम अगाडी बढ्ने हो । यसमा थप छलफलको कार्यक्रम छैन त्यहाँ बन्दसत्र होला । यद्यपि पाँच हजारको भिडमा एकदिन गर्ने छलफल कतिको उपयुक्त होला ? त्यसले के अर्थ लाग्ला ? त्यसकारण हामीले सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट पार्टीको दृष्टिकोण सार्वजनिक मेरो पुस्ताले गरिरहेको छ । दोस्रो कुरा यो लगत्तै नेपाली कांग्रेसको नवनिर्वाचित समितिले पार्टीको नीति अधिवेशनको परिकल्पना गरेको छ । पार्टीको नीति अधिवेशनको समयमा तपाइले भनेको जस्तो छलफल हुन्छ । अहिले नेतृत्वको चुनाव भएकाले हामी नेतृत्वमा केन्द्रीत भएका छौँ ।

कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहन्छ । तर तपाइहरु पनि दाईहरुको कृपाबाट माथि उठ्न सक्नुभएन नि ? यसरी कसरी पुस्तान्तरण होला ?

म महासमितिमा निर्वाचित भइसकेपछि मलाई धेरै ठाउँबाट प्रश्न आयो । मैले प्रतिक्रिया दिँदा के भन्ने गरेको छु भने यदी निर्वाचन हुँदैन थियो भने, लोकतान्त्रिक पद्धती अवलम्बन हुँदैनथ्यो भने मलाई लाग्छ । आजको दिनमा मचाँही महासमिति सदस्य बन्दैन थिए होला । सहमतिको नाममा भन्नुस् वा तपाइले भनेको जस्तो कृपा वा हुकुमी प्रवाङी तवरबाट दिने पदको हिसावमा हामी पर्दैनथ्यौ । त्यसकारणले ७० बर्ष अघि विपी कोइरालाको चेतनाले जुन लोकतान्त्रिक प्रणालीलाई अवलम्बन गर्ने भनेर ल्यायो । त्यो प्रणलीभित्र संर्घर्षको मैदानमा खारीएर, संर्घर्ष गरेर साधारण नागरिकका अगाडी आफुलाई प्रस्तुत गरेर उहाँहरुबाट जनमत लिएर नेतृत्वमा स्थापित हुने प्रकृयामा हामी छौँ । त्यसकारणले बाहिर भनिएजसरी सबै कृपामा आउने होइनन् । जस्तो तपाइलाई भनौ म साढे ९ सयमा ६ सय मत ल्यायो त्यो दाइको कृपाले हो भन्न मिल्दैन । हो मलाई केही महत्वपूर्ण नेताहरुको आशिर्वाद र सहयोग थियो त्यो संगसंगै आम मतदाताहरुले मलाई गरेको विश्वास पनि थियो । म सबैसंग आग्रह गर्न चाहान्छु लोकतान्त्रिक विधि र पद्धतिबाट जे आइरहेको छ त्यसलाई सकारात्मक ढंगले बुझिदिनुहोला ।

नेतृत्व त पुरानै दोहोरिने वा भनौं पुरानै पुस्ताको पोल्टो मै जाने देखिन्छ । यो अवस्थामा अवको कांग्रेस कस्तो होला ?

जस्तो विपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्म जुन विराटनगर जुटमिल आन्दोलन भन्नुस वा १९९७ को वा २००७ सालमा उदायको नेतृत्व यसपाली पनि सबैभन्दा माथी छ । त्यो देखिसकेपछि हामीले आजसम्म त्यो पुस्ताले जति गर्नु गरिसक्यो अब त्यो पुस्ताले केही गर्न सक्दैन भनिरहेको बिचमा तपाईले हेर्नुभयो भने सभापतिमा उमेद्वारी दिने व्यक्ति ७० बर्षको हाराहारीमा छ । कान्छै भएपनि ७०को नजिक नजिक छ । ७० बर्ष माथिको नेतृत्व सबैभन्दा माथि आउँदैछ त्यो समूहले दिने नतिजा के होला त्यो भनिरहनु पर्दैन ।

यो अवस्था आउनुमा तपाइहरुपनि त दोषि हो नि ? विधानमा व्यवस्था गर्ने बिषयमा तपाईहरु मौन बस्ने अनि दोष अरुलाई लगाउने ?

पहिलो कुरा चाँही उहाँहरुको जिम्मा हामी लिन सक्दैनौं । दोस्रो पुस्ता छ जसले पार्टीलाई अगाडी बढाउने अठोट लिएका छन् । जस्तै गगन थापाहरुको पुस्ता जवरजस्त उपस्थिति हुँदा पार्टीमा केही न केही परिर्वन । केहीन केही बदलाव आउँछ । तपाइले हाम्रो कमजोरीको कुरा गर्नुभयो त्यो ठिक हो । कमजोरी किन छ भने राजनीतिमा कस्ता व्यक्ति छन् भन्ने बिषयमा पनि समिक्षा गर्नुपर्छ । हामीकहाँ दलको संख्या धेरै छ तर त्यसको गुणस्तर भने सुधार गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement