काठमाण्डु- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्ष पदमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नियुक्त भएका छन् ।
करिब डेढ महिनादेखि नेप्से नेतृत्वविहिन रहँदै आएको थियो ।
वैशाख १५ गते तत्कालीन अध्यक्षको राजीनामापछि रिक्त रहेको पदमा सरकारले नयाँ नियुक्ति गरेसँगै नेप्सेले पुनः स्थायी नेतृत्व पाएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको निर्णयअनुसार लम्सालले नेप्सेको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।
अध्यक्ष पद खाली रहँदा पूँजीबजारसँग सम्बन्धित विभिन्न नीतिगत निर्णय, संस्थागत सुधार तथा रणनीतिक योजनाहरू प्रभावित भइरहेका थिए ।
हाल अर्थ मन्त्रालयमा कार्यरत लम्साल वित्तीय तथा सार्वजनिक संस्थागत व्यवस्थापनमा अनुभव भएका अधिकारीका रूपमा परिचित छन् । उनले नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंकलगायत संस्थामा सञ्चालकको भूमिका निर्वाह गरिसकेका छन् ।
नयाँ अध्यक्ष नियुक्तिसँगै नेप्सेमा रोकिएका सुधार कार्यक्रम, बजार पूर्वाधार सुदृढीकरण तथा प्रविधिमैत्री सेवा विस्तारका कामले गति लिने अपेक्षा गरिएको छ । साथै, धितोपत्र बजारको पारदर्शिता, लगानीकर्ता विश्वास अभिवृद्धि र नियामक निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउने दिशामा नयाँ नेतृत्वले भूमिका खेल्ने विश्वास गरिएको छ ।
पूँजीबजारका सरोकारवालाले पनि लम्सालको नेतृत्वमा नेप्सेले बजार विकास, आधुनिकीकरण र संस्थागत सुधारका एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् ।




प्रतिक्रिया