न्युयोर्कमा अमृत राईलाई राजदूत बनाउने सरकारको तयारी


काठमाडौं– सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागी नेपाली स्थायी नियोगको प्रमुखमा अमृत राईलाई पठाउने भएको छ । परराष्ट्रसचिव शंकरदास वैरागीले न्युयोर्कस्थित नियोगको प्रमुख हुन् अस्विकार गरेपछि उनको ठाउमा राईलाई पठाउने तयारी भएको हो। राई हाल साउथ अफ्रिकामा नेपाली राजदूतका रुपमा कार्यरत छन् । तीन महिनापछि उनको राजदूतको कार्यकाल सकिदैछ ।

परराष्ट्रमन्त्रालयका सहसचिव रहेका राई निकै क्षमतावान् युवा कुटनितिज्ञका रुपमा चिनिन्छन् । उनले यसअघि न्युयोर्कमै काउन्सिलरको रुपमा समेत काम गरेका थिए । राई ०७१ मंसिरमा राजदूतको रुपमा नियुक्त भएका थिए ।

वैरागीले सचिवको पुर्ण कार्यकाल आफु मन्त्रालयमा नै बस्ने अडान राखेपछि उनको ठाउमा भरतराज पौडेललाई पठाउने तयारी भएको थियो । वैरागी नियमअनुसार अझै साढे दुई बर्ष परराष्ट्र सचिवको रुपमा कार्यरत रहन सक्नेछन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मन्त्रालयको राष्ट्रसंघ डिभिजन हेर्ने सहसचिव पौडेललाई पठाउने प्रस्ताव गरेपनि त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएको स्रोतको दाबी छ । पौडेलले यसअघि पाकिस्तानका लागी नेपाली राजदूतका रुपमा समेत काम गरेका थिए ।

हालका नियोग प्रमुख दुर्गा भट्टराईलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि नियोग नेतृत्वविहिन बनेको थियो । उनको ठाउमा जान परराष्ट्रका आधा दर्जन सहसचिवहरु दौडमा रहेका छन् । तर,प्रधानमन्त्री ओलीले राईलाई नै पठाउने बचन दिइसकेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement