नारायणहिटी दरबार संग्रहालय : क्षतिपूर्ती माग गर्दै कानूनी उपचारमा जाने तयारीमा बतास समूह


काठमाण्डु – नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफे सञ्चालनको तयारी गर्दा चर्चामा आएको बतास समूह कानूनी उपचारमा जाने भएको छ । नारायणहिटी दरबार संग्रहालय परिसरबाट भत्काइएका भौतिक संचरनाहरुको क्षतिपूर्ती माग गर्दै बतास समूह कानूनी उपचारमा जाने उक्त ग्रुपका मालिक आनन्दराज बतासले जानकारी दिए ।

‘हामीले इमान्दारिताका साथ काम गर्छौं भनेका थियौं । तर, अब हामीलाई नारायणहिटीको क्यान्टिन चलाउन दिए पनि चाँहिदैन । हाम्रो लगानीको क्षतिपूर्ती दिए हुन्छ । लगभग ३ करोड खर्च भएको छ। त्यसको क्षतिपूर्ती दिने मन्त्री आले वा नारायणहिटी व्यवस्थापन समितिले हो त्यो सरकार नै जानोस् । हामीले नियमसंगत नारायणहिटी व्यवस्थापन समितिसँग सम्झौता गरेको हो । कानूनी रुपमा दाबी गर्छौं ,’ उनले भने ।

बतासले नारायणहिटी दरबार संग्रहालयले पाँच वर्ष अगाडि नै भवन बनाइसकेको बताउँदै यो भवनमा रेष्टुरेन्ट, क्याफे चलाउने र अरु ठाउँ नपुगेकाे खण्डमा अन्य संचरना बनाउने सहमति भएकाे बताए ।

‘हामीले यो ठाउँमा यो–यो संचरना बन्दैछ भनेर निवेदन दिएका छौं सोहीअनुरुप भौतिक संचरना निर्माण भएको हो । यो बनेको ८ महिना अगाडि नै हो । भत्काउनु नै थियो भने ८ महिना अगाडि नै भत्काउनुपर्ने थियो । यो गैरकानुनी रुपमा भत्काइएको छ । मन्त्रीजीको मौखिम निर्देशनमा भत्काइएको छ। हामी गलत प्रक्रियाबाट जाँदैनौं । कानूनी प्रक्रियाबाट जान्छौं,’ उनले भने ।

बतासले टेण्डर प्रक्रिया हुँदा ३५ दिनसम्म कुनै कम्पनीले भाग नलिएको र त्यसपछि १५ दिनको म्याद थप हुँदा आफूले पिन जानकारीमा पाएर उक्त समयमा मसहितका अन्य कम्पनीले टेण्डर हालेकाे बताए ।

‘एकवर्ष अगाडि टेण्डर भएको ८ महिनादेखि काम भइरहेको , सरकार परिवर्तन भयो । कुन उदेश्यले गरेको हो उनीहरु नै जानुन । यसमा सामाजिक र राजनीतिक पूर्वाग्रह साँधिएको छ । पाटन संग्राहालयमा समिट होटलले क्यान्टिन चलाइरहेको छ। मन्त्रीजीले मिडियामा स्टण्ड देखाउन खोज्नुभयो,’ उनले भने ।

नारायणहिटी विकास समिति र बतास समूहबीच २०७७ पुस १७ मा मासिक २ लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी रेष्टुरेन्ट सञ्चालन गर्ने सम्झौता भएको थियो । साथै बतास समूहमाथि पशुपतिस्थित नेपाल–भारत मैत्री धर्मशालामा होटल, पोखरास्थित गण्डकी संग्रहालयको जग्गा र भवन पनि बतासकै कब्जामा कृषि सामग्री कम्पनीको जग्गामा मनपरी, ३५ वर्षसम्म सेती नदी थुनेर बतासले ढुंगा गिट्टी, बालुवाटा निकाल्ने, पाटन दरबार क्षेत्रका सटर सस्तोमा लिएर मअहंगो भाडामा दिने, दरबार हातामा डिजिटल विज्ञापन बोर्ड, तनहुँको मानुङकोटस्थित सार्वजनिक जग्गा बतास समूहलाई, कोरोनाका तेस्रो भेरियन्ट आउँदासमेत बतासले अक्सिजन प्लान्ट ल्याउन नसकेको लगायतका आरोप छ ।

सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेकाे बतासबारे अहिले चौतर्फी हमला भइरहेको छ ।

नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काइएको छ । सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका थिए ।

मन्त्री आलेले संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गरिसकेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी सदस्य छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement