यस्तो छ थवाङबाट उर्जामन्त्री पुनले विप्लवलाई दिन खोजेको सन्देश


काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका विध्वंशात्मक गतिविधिलाई निस्तेज पार्न सरकारले प्रतिबन्ध लगायो । एनसेल लगायत व्यापारिक प्रतिष्ठानलाई निशाना बनाउँदै विप्लव समूह सक्रिय भएको देखिएपछि सरकारले प्रतिबन्ध लगाएको हो ।

विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सरकारसँग द्वन्द्व बढेको देखिएको छ । सरकारविरुद्ध विप्लव समूहले बिहीवार नेपाल बन्द समेत गरेको छ । तर बन्दसहित विप्लवका कार्यक्रम प्रभावकारी भइरहेका छैनन् ।

शहरी क्षेत्रमा उपस्थिति कम भएर प्रभाव कम परेको र ग्रामीण क्षेत्रमा विप्लव समूहको प्रभाव राम्रो हुनसक्ने कतिपयले अनुमान गर्छन् । त्यस्तै ग्रामीण क्षेत्रमध्ये पर्छ रोल्पाको थवाङ ।

थवाङ ग्रामीण क्षेत्र मात्रै होइन, ऐतिहासिक महत्त्वको क्षेत्र पनि हो । विद्रोही चेतना भएका वासिन्दाको बस्ती र सशस्त्र जनयुद्धको आधारस्थलको रुपमा समेत थवाङलाई लिइन्छ । पछिल्लो समय थवाङमा सरकार वा जनप्रतिनिधिको उपस्थिति कमजोर रहेको र विद्रोही विप्लव समूहको प्रभाव बढेको अनुमान समेत गर्र्ने गरिन्छ । तर सामान्य अनुमानलाई गलत सावित गर्दै थवाङमा सरकारको उपस्थिति बलियो देखिएको छ ।

थवाङ पुगेर विप्लवको खोजी

विप्लवमाथि प्रतिबन्ध लगाएको सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ रोल्पाको थवाङ पुगेका छन् । थवाङ पुगेर मन्त्री अनन्तले बुधबार साँझ ५:११ बजे फेसबूकमा तस्विर समेत रोखका छन् । उनले फेसबूकमा थवाङ आईपुगियो भनेर तस्विर राख्नुको पछाडी विप्लवलाई प्रष्ट सन्देश दिन खोजेको देखिन्छ । मन्त्री पुगेसँगै थवाङको सरकारको उपस्थिति देखिएको छ ।

रोल्पाबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य समेत भएका कारण अनन्तका लागि थवाङ आउजाउ सामान्य नै हो । तर विप्लवको विद्रोह बलियो भएको वा फैलिएको अनुमानका बीच सरकारी मन्त्री थवाङ पुग्नु चाहिँ अर्थपूर्ण छ । मन्त्री अनन्तले झन् थवाङ पुगेर विप्लवको खोजी गरेका छन् । उनले विप्लवलाई वार्तामा आउने समेत सार्वजनिक आह्वान गरे ।

मन्त्री अनन्तले जनताका समृद्धिका सपना जनमतको माध्यमबाटै पूरा गर्न सकिने भन्दै विप्लवलाई वार्तामा आउन आग्रह गरे । गन्तव्य जलजला कार्यक्रमका क्रममा रोल्पाको थवाङ पुगेका मन्त्री पुनले विप्लव समूहले शुरू गरेको सशस्त्र गतिविधिभन्दा जनताको जनमतको बाटोबाट नै जनताका समृद्धिका चाहना पूरा गर्न सकिने बताए ।

‘संविधानले नै जनताका अधिकार सुनिश्चित गरिसकेकाले अब सशस्त्र अभियानको आवश्यकता छैन,’ उनले भने, ‘सरकार वार्ता र संवादबाट समस्याको समाधान गर्न तयार छ, अहिलेको अवस्थामा जनमतबाटै जनताका आकांक्षा पूरा गर्न सकिन्छ ।’ रोल्पाको थवाङ पुगेर मन्त्री अनन्तले विप्लवलाई वार्तामा आउन आग्रह गर्नु पनि अर्थपूर्ण छ ।

शहीद–बेपत्ता परिवारसँग मन्त्री

रोल्पामै रहेका बेला ऊर्जामन्त्री अनन्तले रोल्पाका शहीद तथा बेपत्ता परिवारलाई जस्तापाता वितरण गरेका छन् । समृद्ध रोल्पा फाउन्डेसनका संरक्षक समेत रहेका मन्त्री अनन्तले बिहीवार रोल्पाको लिवाङमा जस्तापाता वितरण गरे । रोल्पामा फुसको छाना भएका सबै घरलाई हावापानीबाट सुरक्षित बनाउन जस्तापाता वितरण गर्ने प्रतिवद्धता जनाएका मन्त्री अनन्तले प्रतिवद्धता अनुसार सांसद सुरक्षित आवास कार्यक्रममार्फत पहिलो चरणमा जस्तापाता वितरण गरेका छन् ।

कार्यक्रममा मन्त्री पुनले पाँच वर्षको आफ्नो कार्यकालमा रोल्पामा रहेका झण्डै १४ हजार परिवारलाई छाना वितरण गरिसक्ने प्रतिवद्धता समेत जनाएका छन् ।

रोल्पालाई पूर्णरुपमा उज्यालो बनाउन सबै जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा प्रवेश गरिसकेको बताउँदै मन्त्री अनन्तले केही वर्षभित्रै रोल्पा उज्यालो हुने बताए । कार्यक्रममा पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य एवं फाउन्डेसनका अध्यक्ष ओनसरी घर्ती लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement