एन्फा निर्वाचन वैशाख २२ गते


काठमाडौं- पटकपटक सर्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन यही वैशाख २२ गते हुने भएको छ । पाटन उच्च अदालतमा परेको रिटका कारण यसअघि १४ गतेको रोकिएको एन्फा निर्वाचन अदालतको निकासापछि २२ गते हुन लागेको हो।

पाटन उच्च अदालतमा अघिल्लो साता रिटको निकास दिनका लागि एन्फाले भ्याकेट (रिट खारेजी गरिपाऊँ) भनेर निवेदन दिएको छ । बुधबार अदालतले रिट खारेज गरिदिएपछि एन्फाको चुनाव हुने बाटो खुलेको हो ।

‘निर्वाचन समितिको निर्णयअनुसार हामी २२ गते नै एन्फाको निर्वाचन गर्दैछौं । निर्वाचनका लागि केवल विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधि बोलाउन बाँकी छ । अन्य सबै तयारी पूरा भइसकेको छ’, एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले भने ।

पाटन उच्च अदालतमा भक्तपुरका जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले चैत १४ गते हुने भनिएको निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराइनुपर्ने माग राख्दै रिट दिएका थिए । त्यसपछि अदालतले तत्काल निर्वाचन नगर्न नगराउन चैत ८ गते अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि एन्फाले विज्ञप्ति जारी गरी निर्वाचन स्थगित गरेको थियो ।

त्यसबीचमा भक्तपुर र मकवानपुरको जिल्ला निर्वाचन पूरा भए पनि ती जिल्लाका पदाधिकारीले रिट भने फिर्ता लिएका थिएनन् । एन्फाको निर्वाचन मिति छिटो तोक्न एएफसीले पनि एन्फालाई निर्देशन दिएको थियो । एन्फा कार्यसमितिको निर्वाचन यसअघि २०७० कात्तिकमा भएको थियो । चारवर्षे कार्यकाल गत कात्तिकमै सकिएको थियो ।

एन्फा निर्वाचनमा अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र कर्मा छिरिङ शेर्पाबीच प्रतिस्पर्धा हुँदैछ । आगामी चार वर्षका लागि अध्यक्ष पदमा कुँवर र शेर्पा दुईजनाको मात्र उम्मेदवारी परे पनि चार उपाध्यक्ष पदका लागि भने नौजना मैदानमा छन् । ११ सदस्यका लागि ३५ जनाको उम्मेदवारी परेको छ । महासचिव र कोषाध्यक्ष भने निर्वा्चित कार्यसमितले चयन गर्ने प्रावधान छ । एन्फा चुनावमा ४५ जिल्ला, ए डिभिजनका १४, बी डिभिजनका नौ, सी डिभिजनका पाँच, महिला, रेफ्री, प्रशिक्षक र खेलाडी समितिका चार गरी ७७ वटा मत रहेको खबर अाजकाे अन्नपुर्णपाेस्ट्मा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement