गाडीले गेट छेक्न सक्ला, जनआवाज छेक्न सकिन्नः आङ्देम्बे

गाडीले गेट छेक्न सक्ला, जनआवाज छेक्न सकिन्नः आङ्देम्बे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार संरक्षित मानिसहरुबाट आफ्ना सभापति गगन थापा र सार्वजनिक सञ्चार माध्यमका कार्यालयको गेटमा गाडी पार्किङ गरिएकामा आपत्ति जनाएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले आलोचनाबाट डराएर सरकारले सञ्चारगृह र नेताका घर अगाडि शंकास्पद सवारीसाधन पार्किङ गराइएको बताए ।

लोकतन्त्रमा सबैभन्दा ठूलो शक्ति आलोचना सहन सक्ने क्षमता रहेको उनको भनाइ थियो ।

‘लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता हो तर जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्छ,’ उनले लेखेका छन् ।

गाडी राख्ने उक्त कार्यले स्वतन्त्र प्रेस र प्रतिपक्षलाई दबाबमा पार्ने उद्देश्य राखिएको टिप्पणी उनको छ ।

गेट अगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास रहेको निस्कर्ष आङदेम्बेको छ ।

‘यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्‍यौ भने परिणाम भोग्नुपर्छ भन्दै तर्साइएको हो’, उनले भने ।
सञ्चारमाध्यम र प्रतिपक्ष सरकारका शत्रु नभएको उनले सम्झाए ।

‘सञ्चारमाध्यमहरू र प्रतिपक्ष सरकारको शत्रु होइनन्’ ,उनले भने, ‘उनीहरू जनताका आँखाअघि राज्यका कामकारबाही जस्ताको तस्तै देखाउने ऐना हुन् । ऐना फुटाएर अनुहार सुन्दर देखिँदैन ।’

सहकारीपीडित, मिटरब्याजपीडित, सुकुम्बासी समस्यादेखि मुगुका गणेश नेपालीले राज्यको दुर्व्यवहारले र सर्लाहीका विवेक मण्डलले बेरोजगारी समस्याका कारण आत्मदाह गरेको घटनालाई लिएर सरकारलाई प्रश्न गर्ने सञ्चारगृह र प्रतिपक्षी दलको नेताको गेट छेक्दैमा जनताको आवाज रोक्न नसक्ने चेतावनी दिए ।


‘गाडीले गेट त छेक्न सकिएला तर जन–आवाजहरू छेक्न सकिन्न, इतिहासले पुष्टि गरेको छ कि गेट छेकिए पनि प्रश्नको बाटो बन्द हुँदैन,’ उनले लेखेका छन् ।