बालेन्द्रलाई आङदेम्बेको सुझावः प्रधानमन्त्री भइसक्नुभयो, भाइरल बन्ने आदत छाडनुस्

बालेन्द्रलाई आङदेम्बेको सुझावः प्रधानमन्त्री भइसक्नुभयो, भाइरल बन्ने आदत छाडनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई
भाइरल बन्ने आदत त्याग्त आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले देशको प्रधानमन्त्री भइसकेपछि सामाजिक सञ्जालमा भाइरल बन्ने आदत छाड्न आग्रह गरेका हुन् ।

आङ्देम्बेले आफूलाई प्रधानमन्त्री बनाउन संसदलाई प्रधानमन्त्री शाहले लगातार उपेक्षा गर्दै आएको भन्दै असन्तुष्टि जनाए । लोकतान्त्रिक व्यवस्थामा लोकप्रिय हुनु र उत्तरदायी हुनु फरक विषय रहेको उनको भना थियो ।

‘प्रधानमन्त्रीजी संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ ?’, उनले भने, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एकै कुरा होइन ।’

शाहले आफू नजाँदा संसदले नखोज्नेबारे प्रधानमन्त्री ढुक्क रहेकाले आफूहरुले पनि नखोज्ने बताए । प्रधानमन्त्रीको प्राथमिकतामा संसद नपरे संसदीय लोकतन्त्र बलियो हुन नसक्ने तर्क गरे ।

उनले सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भए पनि प्रधानमन्त्रीका रूपमा गम्भीर ढंगले काम गर्न गाह्रो रहेको बताए ।


‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ । त्यसैले प्रधानमन्त्रीज्यू तपाईंले अब भाइरल हुने बाटो अब त्याग्नुपर्छ’, उनले भने, ‘तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो, सही ढंगले एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस् । दुर्घटनामा पर्दा तपाईं मात्र होइन, सिंगो देश दुर्घटनामा पर्न सक्छ ।’


विपक्षी दलको नेताले संसदमा बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने परम्परा पनि उनले सम्झाए ।

‘विपक्षी दलको नेताले बोल्दा प्रधानमन्त्री संसदमा उपस्थित हुने प्रचलन छ । प्रधानमन्त्रीजी यहाँ हुनुहुन्न’, उनले भने, ‘मैले प्रक्रिया सम्झाएको हो । मलाई थाहा छ । उहाँ हिजो पनि हुनुहुन्नथ्यो । आज पनि हुनुहुन्न । उहाँलाई लाग्न थालेको छ कि म नगए पनि अब संसदमा खोजी हुँदैन ।’