काठमाण्डु- लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि नागरिकता र नियुक्ति प्रक्रियालाई लिएर विवादमा तानिएकी गायिका तथा भिक्षुणी आनी छोइङ डोल्माले आफू आरोपबाट विचलित नभएको बताएकी छन्।
उनले आफूले नेपालमै बसेर धर्म र कर्म गर्ने तथा देशको सेवा गर्ने सोच राखेको उल्लेख गर्दै जिम्मेवारी पूरा गर्न आफूलाई साथ र सहयोग गर्न आग्रह गरेकी छन्।
सोमबार फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै आनीले आफ्नो नियुक्तिलाई लिएर उठेका प्रश्नबारे आफूले स्पष्टीकरण दिन आवश्यक नठाने पनि आफूलाई विश्वास गर्नेहरूको विश्वासमा खरो उत्रिने प्रतिबद्धता व्यक्त गरिन्।
‘आफ्नै देश छोडेर अर्काको देशको नागरिक बन्न लालायित भइराखेको बेला म यहीँ बसेर गर्छु, मेरो धर्म पनि यहीँ गर्छु, कर्म पनि यहीँ गर्छु, यही देशमा मर्न पाऊँ भनेर सोचेर बसेको मान्छे हुँ,’ उनले भनेकी छन्।
उनले नेपालमा धेरै मानिसले जीवनस्तर सुधार्ने, परिवारलाई सुखसुविधा दिने र छोराछोरीको राम्रो भविष्य निर्माण गर्ने उद्देश्यले विदेश जानुपर्ने बाध्यता भोगिरहेको उल्लेख गरिन्। तर आफूले नेपालमै बसेर काम गर्ने सोच बनाएको उनको भनाइ छ।
‘मप्रति धेरै मानिसले माया देखाउनुभएको छ, विश्वास राख्नुभएको छ। उहाँहरूको विश्वासमा म खरो उत्रिनेछु। हाम्रो यो चेलीले देशलाई राम्रो सेवा गर्यो भनेर गर्व गर्ने वातावरण बनाउँछु,’ आनीले भनिन्।
आरोपले विचलित छैन
आफूमाथि आरोप लगाइएको विषयमा आनीले आफू विचलित नभएको बताइन्। यद्यपि, विवादका कारण आफू केही दुःखी र चिन्तित भएको उनले स्वीकार गरिन्।
उनले आफ्नो नियुक्तिको विषयलाई लिएर थप अप्रिय घटना नहोस् र समाजमा घृणा नफैलियोस् भन्नेमा सचेत गराइन्।
‘कसैले लाञ्छना लगायो, आरोप लगायो भनेर म विचलित छैन। अलिकति दुःखी र चिन्तित भने भएकी छु। यही विषयलाई लिएर अन्य अप्रिय घटना नघटून्, घृणा नफैलियोस्,’ उनले भनिन्।
जातीय घृणालाई देशका लागि घातक भन्दै उनले यस विषयमा विचार पुर्याउन सबैलाई आग्रह गरिन्। आगामी दिनमा आफूलाई दिइएको जिम्मेवारी राम्ररी पूरा गर्न आफूलाई आशीर्वाद, शुभकामना र सहयोग आवश्यक रहेको उनको भनाइ छ।
नियुक्तिलाई लिएर विरोध
लुम्बिनी विकास कोषको उपाध्यक्ष पद करिब पाँच महिनादेखि रिक्त रहेको अवस्थामा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय गरेको थियो। निर्णय सार्वजनिक भएसँगै उनको नागरिकताको वैधानिकता र नियुक्ति प्रक्रियालाई लिएर विवाद सुरु भएको हो।
नियुक्तिको विरोधमा ‘लुम्बिनी बचाउ महाअभियान’ गठन गरेर विरोधका कार्यक्रमसमेत सञ्चालन गरिएका छन्। अभियानका संयोजक अकरम खानका अनुसार असोज ३१ गतेदेखि विरोधका कार्यक्रम सुरु गरिएका हुन्। नियुक्ति बदर नभएसम्म सभा, पत्रकार सम्मेलन, विरोध र्याली, धर्ना र घेराउका कार्यक्रम जारी राख्ने अभियानको भनाइ छ।
विरोधमा उत्रिएका पक्षले आनीको नागरिकताको वैधानिकताबारे प्रश्न उठाउँदै त्यसको छानबिन गर्न माग गरेका छन्। यसका साथै, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषय र नियुक्ति प्रक्रियाको पारदर्शितामाथि पनि प्रश्न उठाइएको छ।
उनीहरूले लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनमा योगदान दिन सक्ने स्थानीय बुद्धिजीवी, बौद्ध धर्मका जानकार तथा योग्य व्यक्तिलाई नियुक्तिमा बेवास्ता गरिएको आरोप लगाएका छन्।
आनीले नागरिकता र नियुक्ति प्रक्रियाबारे उठेका सबै प्रश्नको विस्तृत जवाफ भने भिडियो सन्देशमा दिएकी छैनन्। उनको नागरिकतासम्बन्धी आरोप र नियुक्ति प्रक्रियामाथि उठेका प्रश्नको आधिकारिकता निरूपणबारे सरकारले पनि केही बोलेको छैन।


प्रतिक्रिया