काठमाण्डु – हामीलाई लाग्नसक्छ कि एकअर्कालाई उपहार दिने काम मानिसहरूले मात्रै गर्न सक्छन् । तर अरू कैयौँ जनावरहरूले पनि आफ्ना साथी र संगीहरूलाई उपहार दिने गरेको पाइन्छ ।
जस्तै, शंखेकिरा, गड्यौला र स्क्वीड भनिने समुद्री जलचरहरूमा पनि सहवासअघि वा विपरीत लिंगलाई फकाउन उपहार दिने अभ्यास देखिन्छ ।
चराहरूले पनि एक अर्कालाई उपहार दिन मजा मान्ने गरेको देखिन्छ । ठूलो खैरो भद्राईले पनि सहवासअघि पोथीलाई साना–साना किराहरू उपहार दिन्छ ।
यद्यपि यो प्रचलन सबैभन्दा धेरै किरा र माकुरा प्रजातिमा देखिन्छ । एक पखेटामा छ वटा रातो धब्बा हुने भाले झिँगाले आफ्नो शुक्राणुबाट सायनाइड नामको तत्त्व दिन्छन् ।
हाम्रै बगैँचामा पाइने माकुराहरूले आफूले गरेको सिकार आफ्ना सम्भावित जोडीलाई जालमा पोको पारेर दिन्छन् । उनीहरूले त्यसलाई थप आकर्षक बनाउन त्यसमा रसायनहरू पनि थप्छन् । यदि पोथी माकुराले त्यसलाई अस्वीकार गरे उनीहरूले उपहारलाई थप राम्रोसँग मोरेर दिन्छन् ।
कहिलेकाहीँ भाले माकुराहरूले कमजोर गुणस्तरको सिकार पोको पारेर पोथीलाई झुक्क्याउँछन् । कहिलेकाहीँ आधा खाइसकेको खानेकुरा पनि राखिदिन्छन् । पोथी माकुरा जालोमा पोको पारिएको उपहार खोल्न व्यस्त भएका बेला भाले माकुरा पोथीसँग संसर्ग गरेर उपहारबारे पोथीलाई थाहा हुनु अघि नै त्यहाँबाट भाग्छन् ।
एक अध्ययनका अनुसार बगैँचामा पाइने माकुराले दिने ७० प्रतिशत उपहारहरू नक्कली हुन्छन् ।
‘भालेहरूले झुक्क्याउने प्रयास गर्छन् । उनीहरूले पुरानो र काम नलाग्ने फट्याङ्ग्राको खुट्टा पोको पार्न सक्छन् वा त्यस्तै केही पोको पार्नसक्छन्,’ क्यानडास्थित युनिभर्सिटी अफ टोरोन्टोका आनीबानी सम्बन्धी विज्ञ ड्यारल ग्विन भन्छन् ।
यस्तै, अरू किराफट्याङ्ग्राले पनि उपहारमा छलछाम गर्ने गरेको पाइन्छ । ‘मेरो घर तल बर्खायाममा यस्तो दृश्य देखिन्छ। त्यहाँ भाले झिँगाहरूले खोलाबाट पानीमा पाइने किराहरू ल्याउँछन्,’ ग्विन भन्छन् ।
काम नलाग्ने उपहार दिएर भालेहरूले क्षणिक फाइदा लिए पनि पोथीले मोरिएको उपहार खोलेर धोका पाएको वास्तविकता थाहा पाएपछि त्यस्तो उपहार दिने भालेलाई अस्वीकार गर्छन् । यसको अर्थ भालेहरूले यौन सम्पर्कका लागि मात्रै उपहारको सहारा लिने गरेको देखिन्छ ।
पोथी किराहरूले जोडी मिल्ने कैयौँ भालेहरूसँग संसर्ग गरे पनि धोका दिने भालेको शुक्राणुबाट पोथीहरूको अण्डा विकास हुने सम्भावना कम हुन्छ ।
कतिपय किराहरू आफूले फकाउन चाहेका पोथीका लागि दिगो किसिमको उपहारदेखि आफ्नै ज्यान समेत दिन तयार हुन्छन् । एक प्रकारको फट्याङ्ग्राले यौन संसर्गका समयमा पोथीलाई आफ्नो पखेटामा टोक्न दिन्छ र उनीहरूको शरीरमा रगतको काम गर्ने हेमोलिम्फ चुस्न समेत दिन्छ । यस्तो ‘लभ बाइट’ पछि भालेहरू कमजोर हुन्छन् र अर्को जोडी भेट्ने सम्भावना निकै कम हुन्छ ।
डार्बिनको योग्यताको सिद्धान्तको दृष्टिबाट हेर्दा रातो ढाड भएका माकुराहरूमा संसर्गका लागि पोथी पाउनु निकै दुर्लभ अवसर हो । उसले उल्टो पल्टिएर पोथीलाई खानेकुरामा भुलाउँदा उसको संसर्गको अवधि लामो हुन्छ र पोथीको डिम्बाशयमा धेरै शुक्राणु पठाउन सफल हुन्छ । जसको परिणाम स्वरूप धेरै बच्चा जन्माउन पोथी सफल हुन्छन् ।
सन् २०२२ मा चीनको जियान्सु अकाडमी अफ एग्रीकल्चरल साइन्सेसका कीटविज्ञ चुफेइ ताङ र उनका सहकर्मीहरूले ९९० लाख वर्ष पुरानो एम्बरमा किरा उपहार दिने उदाहरण संरक्षित भएको भेट्टाएका थिए ।
ती सबै उदाहरणहरू भालेले पोथीसँग जोडी बाँध्नका लागि वा यौन संसर्गका लागि दिइएका उपहार थिए । यस्ता उपहारहरूमा पोषण पनि हुने भएका कारण पोथीले पनि यसबाट फाइदा पाउँछन् ।
यद्यपि जनावरहरूले अर्कालाई खुसी बनाउनका लागि मात्रै पनि उपहार दिने गर्छन् । उदाहरणका लागि डल्फिनले मानिसहरूलाई टुना र अक्टोपस जस्ता समुद्री जीवहरू उपहार दिएको देखिन्छ । विगतमा आफूलाई सहयोग गर्ने मानिसहरूलाई कागले पनि उपहार दिएका विवरण पाइन्छ ।
कागजस्तै गरी कैलो वनकागले पनि आफ्ना जोडीलाई उपहार दिएर आनन्द लिने गर्छन् । भाले कैलो वनकागहरूले आफ्नी पोथी जोडीलाई मनपर्ने खानेकुरा दिने प्रयास गर्ने र सकेसम्म हरेक पटक नयाँनयाँ खानेकुरा उपहारमा दिने गरेको क्लेटनको टोलीले पत्ता लागेको छ ।
निःस्वार्थ उपहार दिने प्रचलन ठूलो बाँदर प्रजातिको बोनबोहरूमा पनि हुन्छ । यो जनावरको ९९ प्रतिशत डीएनए मानव प्रजातिसँग मिल्छ । सन् २०१३ को एक अध्ययनले बोनबोहरूले कहिलेकाहीँ चिन्दै नचिनेका बोनबोहरूलाई पनि दान जसरी उपहार दिने गरेको पाइएको छ ।
उक्त अध्ययनका क्रममा बोनबोहरूले स्याउ र केरा जस्ता खानेकुरा आफ्नो समूहका सदस्य नरहेका अरू बोनबोहरूसँग पनि बाँडेर खाने गरेको पाइएको छ । कहिलेकाहीँ त उनीहरूले आफ्नै खानेकुरा समेत अरूलाई दिएर नयाँ बोनबोसँग चिनजान गर्ने गरेको पाइएको छ ।
त्यसकारण यो सबै कुराले एउटा प्रश्न जन्माउँछ । किन जनावरहरूले एक अर्कालाई उपहार दिन्छन् ? फरक–फरक प्रजातिका जनावरहरूमा यस्तो प्रचलन देखिनुको एउटा कारण भाले र पोथी दुवैको प्रजनन क्षमता बढाउनु पनि हुनसक्छ । किरा र माकुरा प्रजातिमा उपकारको कारण यौन निश्चय हो ।
प्रतिक्रिया