अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ


काठमाण्डु – सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।

नवलपरासी पश्चिमस्थित इन्दिरा चिनी मिलका समेत सञ्चालक रहेका अग्रवाललाई उखु किसानको बक्यौता रकम नतिरेको र ठगी मुद्दामा बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार उखु किसानको बक्यौता रकम भुक्तानी नगरेकाले उनीविरुद्ध सर्लाही र नवलपरासीमा ठगी मुद्दा दर्ता भएको थियो । सोही मुद्धाको आधारमा पक्राउ गरि अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको एसएसपी कुँवरले जानकारी दिए ।

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अन्नपूर्ण चिनी मिलले अहिलेसम्म ९ करोड ९० लाख रुपैयाँ मात्रै किसानलाई भुक्तानी गरेको छ ।

मिलले किसानलाई अझै १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गृह मन्त्रालयले गत मंसिर ३० गते किसानको पैसा नदिने चिनी मालिकलाई पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

मंसिर २८ गते भुक्तानीका लागि दबाब दिन किसानहरु तराईबाट काठमाण्डु आएर केही दिन माइतीघरमा धर्नासमेत बसेका थिए ।

२१ दिनभित्र उद्योगीबाट भुक्तानी दिलाइदिने सरकार र किसानबीच ४ बुँदे सहमति भएपछि किसानहरुले आन्दोलन फिर्ता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement