काठमाण्डु– गत आर्थिक वर्षमा १ सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा ५ लाख ८ हजार ४७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।
तीमध्ये दक्षिण एसियाली मुलुकका ३ लाख ८४ हजार १४५ र अन्य मुलुकका १ लाख २४ हजार ३३१ रहेका छन् । सबैभन्दा बढी ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटक आएका हुन् ।
दोस्रोमा चिनियाँ १२ हजार ५३९ र तेस्रोमा अमेरिकाका ९ हजार ८८४ पर्यटक आएका हुन् ।
यस्तै बेलायतका ९ हजार ८५९, फ्रान्सका ७ हजार ९३९, मलेसियाका ७ हजार ८४८, जर्मनीका ७ हजार ६ सय ३४, बङ्गलादेशका ७ हजार ४४८, अष्ट्रेलियाका ७ हजार ९५ र इजरायलका ६ हजार ३९८ पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले आव २०८१/८२ को तुलनामा गत आवमा दोब्बर बढी विदेशी पर्यटक आएका छन् । आव २०८१/८२ मा २ लाख ७८ हजार ११३ जनाले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका दिए । पर्यटक आगमनमा गत आवमा नयाँ अभिलेख कायम भएको उनको भनाइ छ ।
गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झण्डै ३ सय प्रतिशतले वृद्धि भएको छ । भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएका यो पहिलोपटक हो । भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसारलगायत कारणले भारतीय पर्यटक बढेका हुन् ।
उक्त याममा गर्मी छल्न भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् । वैशाख–जेठ महिनामा पर्यटकीय राजधानी पोखरामा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको थियो । पोखरा आउने भारतीय पर्यटकमध्ये करिब ४० प्रतिशत मुक्तिनाथ जाने गरेका छन् ।




प्रतिक्रिया