अन्तरिक्षमा नेपालको उपस्थिति खुसी र गौरवको कुरा :उपराष्ट्रपति पुन


काठमाडौं – नेपालको पहिलो भू–उपग्रह प्रक्षेपण भएकोमा उपराष्ट्रपति नन्दबहादुर पुनले खुसी व्यक्त गरेका छन्। उपराष्ट्रपति नन्दबहादुर पुनले एक सन्देश जारी गर्दै नेपालको पहिलो भू–उपग्रह अन्तरिक्षतर्फ पठाइएकोमा खुसी व्यक्त गरेका हुन्।

बिहीबार बिहान नेपाली समयअनुसार २ः३१ मिनेटमा नेपालको पहिलो भू–उपग्रह (न्यानो स्याटेलाइट) ‘नेपाली स्याट–१’ अन्तरिक्षतर्फ पठाइएको थियो। अमेरिकाको भर्जिनिया राज्यको तटस्थित नासाको वालोप्स उडान केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा सो भू–उपग्रह प्रक्षेपण गरिएको थियो।

नेपाली भू–उपग्रहको निर्माण नेपाली वैज्ञानिक आभाष मास्केसहितको टोलीले गरेको हो। ‘सानै प्रयास भए पनि अन्तरिक्षमा नेपालको सहभागीता हुनु ज्यादै खुसी र गौरवको कुरा हो,’ उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस अवसरमा म सबै नेपालीमा बधाई ज्ञापन गर्दछु।’

यो प्रक्षेपण पूर्ण सफल हुने आसा व्यक्त गर्दै उनले आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकहरुलाई शुभकामना समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement