विश्वभरका व्यवसायीलाई चीनको तीन प्रस्ताव : खुला बजार, विकासको अवसर र सहकार्य

विश्वभरका व्यवसायीलाई चीनको तीन प्रस्ताव : खुला बजार, विकासको अवसर र सहकार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले विश्वभरका व्यवसायी तथा लगानीकर्ताका लागि विशाल खुला बजार, विकासका नयाँ अवसर र पारस्परिक लाभमा आधारित सहकार्यको वातावरण उपलब्ध गराउने बताएका छन्।

बुधबार दक्षिण चीनको क्वाङतुङ प्रान्तस्थित शनचनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सीईओ सम्मेलन २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको १५औँ पञ्चवर्षीय योजना विश्वव्यापी व्यवसाय समुदायका लागि सहकार्यको निमन्त्रणा भएको बताए।

उनले चीनको विकासको मार्गचित्रका रूपमा रहेको उक्त योजनाले चीनको आर्थिक वृद्धिलाई मात्र नभई एसिया–प्रशान्त क्षेत्र र विश्वको समग्र आर्थिक विकासलाई पनि नयाँ अवसर प्रदान गर्ने बताए।

सीले विश्वव्यापी व्यवसाय समुदायका लागि चीनले तीन प्रमुख अवसर उपलब्ध गराउने उल्लेख गरे। चीनले पहिलो अवसरका रुपमा विश्वभरका व्यवसायीका लागि विशाल र खुला बजार उपलब्ध गराउने उनले बताए ।

दोस्रो, व्यवसाय विस्तार तथा लगानीका लागि सम्भावनायुक्त भूमि प्रदान गर्ने उनको भनाइ छ।

तेस्रो, पारस्परिक लाभ र एकअर्काका क्षमतालाई पूरक बनाउने सहकार्यको वातावरण निर्माण गर्ने बचन पनि उनले दिए ।

यो चीनको १५औँ पञ्चवर्षीय योजना सन् २०२६ देखि २०३० सम्मका लागि तय गरिएको विकास योजना हो। यसलाई चीनले आफ्नो आर्थिक तथा सामाजिक विकासको आगामी पाँच वर्षको मार्गचित्रका रूपमा अघि सारेको छ।

एपेक सीईओ सम्मेलन नोभेम्बर १७ र १८ मा शनचनमा आयोजना भइरहेको छ। ‘सँगै समृद्ध बनौँ र भविष्य जितौँ’ भन्ने मूल नारासहित आयोजित सम्मेलनमा विश्वका विभिन्न देशका व्यवसायी, लगानीकर्ता तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

यसैबीच, नोभेम्बर १८ र १९ मा शनचनमै एपेकको ३३औँ आर्थिक नेताहरूको बैठक पनि हुँदैछ। ‘सँगै समृद्धिका लागि एसिया–प्रशान्त समुदाय निर्माण’ भन्ने नारासहित आयोजना हुने उक्त बैठकको अध्यक्षता राष्ट्रपति सीले गर्ने कार्यक्रम छ।