काठमाण्डु – विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई १ तह बढुवा गरिने भएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हबल्दारमा बढुवा गरिने भएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बढुवाको घोषणा गरेसँगै आवश्यक प्रक्रिया थालिएको पनि उनले बताए । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिनाका साथै उनीहरूले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र संगठनको झण्डा फहराउनु गर्वको विषय भएको उल्लेख गरे ।
उनले उच्च मनोबल र हौसलाका साथ विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरोमा राष्ट्र र संगठनको झण्डा फहराउनु गौरवको विषय भएको चर्चा गर्दै उनीहरूले गरेको हिमाल आरोहणले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको बताए ।
कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र संगठनको झण्डा सर्वाेच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेका थिए ।


सशस्त्र प्रहरी सहायक हबल्दार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिइन् ।
सशस्त्र प्रहरी बल नेपालका तर्फबाट सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सगरमाथा आरोहण गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल नेपालमा पहिलो महिला आरोही हुन् । उनीहरूलाई एपीएफ सम्मानबाट सम्मानित गरिने भएको छ ।




प्रतिक्रिया