शान्ति मिसनको अनुभवलाई देश र जनताको सेवामा लगाउनुहोस् : सशस्त्र आईजीपी पौडेल

शान्ति मिसनको अनुभवलाई देश र जनताको सेवामा लगाउनुहोस् : सशस्त्र आईजीपी पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूले शान्ति मिसनमा बटुलेका अनुभव र हरेक क्रियाकलापलाई देश र जनताको सेवा र सुरक्षामा समर्पित गर्न निर्देशन दिएका छन् ।

बिहीबार संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको १२औँ डफ्फाको टोलीलाई स्वागत गर्दै आईजीपी पौडेलले अनुभवको प्रयोग गर्न निर्देशन दिए ।

नेपालको वर्तमान सुरक्षा परिवेश अत्यन्तै गतिशील र परिवर्तनशील रहेको चर्चा गर्दै सशस्त्र आईजीपी पौडेलले भने, ‘म मिशनमा थिएँ, मलाई थाहा भएन भन्ने कुनै पनि बहाना अब स्वीकार्य हुने छैन ।’

उनले सशस्त्र प्रहरी कर्मचारीहरूलाई मिसनमा रहँदा देशमा भएका ऐतिहासिक राजनैतिक परिवर्तन, निर्वाचन र तराई–मधेश क्षेत्रमा देखिएका जातीय तथा धार्मिक संवेदनशीलता जस्ता विषयहरूलाई सुक्ष्म रूपमा अध्ययन र विश्लेषण गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए । उनले सुरक्षा सेवामा सानो लापरवाहीले पनि अपुरणीय क्षति पुर्‍याउन सक्ने भएकाले सशस्त्र प्रहरी कर्मचारीहरू २४ घण्टै उच्च सर्तकताका साथ कार्यक्षेत्रमा परिचालन हुन समेत निर्देशन दिए ।

आईजीपी पौडेलले जलवायु परिवर्तनका कारण हुनसक्ने बाढी, पहिरो र डुवान जस्ता विपद्का घटनाहरूमा सशस्त्र प्रहरी कर्मचारीहरूको भूमिका उल्लेखनीय रहने चर्चा गर्दै विपद् व्यवस्थापनमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन गोताखोर तथा उच्च हिमाली उद्धारकर्ताको लागि तलब स्केलको १५ प्रतिशत जोखिम भत्ता तथा परिचालन भत्ताको समेत व्यवस्था भएको उल्लेख गरे ।

विशेषगरी सीमा क्षेत्रमा हुने आर्थिक अनिमियततामा संगठनले पूर्ण रूपमा शुन्य सहनशीलताको नीति लिएको र यस्ता कार्यमा संलग्न जुनसुकै दर्जा सशस्त्र प्रहरी कर्मचारीहरूप्रति कठोर कदम चालिने स्पष्ट पार्दै उनले सीमा सुरक्षार्थ परिचालित हुँदा उच्च नैतिकता र व्यावसायिक दक्षताका साथ खटिनुपर्ने बताए ।

आईजीपी पौडेलले कठिन सुरक्षा परिस्थिति र भिन्न भौगोलिक वातावरणमा समेत आफ्नो व्यावसायिकता र अनुशासन कायम राखी नेपालको अन्तर्राष्ट्रिय छविलाई थप उचाइ पुर्‍याउन सफल भएको उल्लेख गर्दै दक्षिणी सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा करीब १५ महिनाको कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किएका सशस्त्र प्रहरी कर्मचारीलाई हार्दिक बधाइ दिए ।

स्वदेश फिर्ता भएको टोलीको बदलीको लागि १३औँ डफ्फाको टोली बिहीबारै त्यसतर्फ प्रस्थान गरेको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेल लगायत सशस्त्र प्रहरी नेपालका सिनियर तथा जुनियर अधिकृतहरूको साथै विल्लादार जवानहरूको समेत उपस्थिति थियो ।