सशस्त्र प्रहरीको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी काम गर्न आईजीपी पौडेलको निर्देशन

सशस्त्र प्रहरीको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी काम गर्न आईजीपी पौडेलको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रूपमा खटिई जान लागेका अधिकृतहरूका लागि सञ्चालन गरिएको कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले निर्देशन दिए ।

उनले राष्ट्र र संगठनको प्रतिष्ठाभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियतका साथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरू कारवाहीको भागिदार बन्ने हुँदा कसैलाई प्रभाव पारी उम्किन्छु भन्ने सोच र विचार आजैका दिनदेखि हटाउन निर्देशन दिए ।

सशस्त्र आईजीपी पौडेलले सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध र संगठनको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालन (बीआईआरडी) को अवधारणालाई प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिँदा आर्थिक अनियमिततामा शुन्य सहनशीलताको नीतिको पूर्णरूपमा पालना गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।

उनले फिल्डमा खटिँदा सानो कमजोरी वा लापरवाहीले अपुरणीय घटना तथा ठूलो क्षति पुग्ने बताउँदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै त्यसको सम्भावित प्रभाव, राष्ट्रिय स्तरमा भइरहेका विरोध कार्यक्रमहरू, विपद्, सीमा अपराध र सामाजिक सञ्जालको दुरुपयोगबाट उत्पन्न हुन सक्ने खतराहरूप्रति समयमै सजग रहनुपर्ने बताए ।

सशस्त्र आईजीपी पौडेलले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचबिखन, तेस्रो मुलुकका नागरिकहरूको प्रवेश र चोरीतस्करी नियन्त्रण लगायतका कार्यहरूमा खटिँदा विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउँदै सीमा सुरक्षामा खटिँदा सरोकारवाला, सम्बन्धित निकायहरू तथा सीमापार समकक्षीसँग समन्वय गरी परिचालन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उनले सशस्त्र प्रहरी कर्मचारीहरूले सोसल मिडियाको प्रयोग र त्यसको दुरुपयोगको विषयमा सजग रही कार्य गर्नुका साथै मिस इन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचका कारण उत्पन्न हुने जोखिमबारे विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

सशस्त्र आईजीपी पौडेलले असल नियत र इमान्दारीपूर्वक गरिने सम्पूर्ण कार्यको संगठनले उच्च मूल्यांकन र संरक्षण गर्ने भएको हुँदा कार्यक्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ व्यावसायिक ढंगमा कार्य गर्नुपर्ने बताए ।

उनले तालिम शिक्षालयका समादेशकहरूलाई ‘शिक्षालयलाई उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यका साथ व्यावसायिकता र प्रविधिमा जोड दिँदै व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राखी स्तरोन्नति गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए ।

 सशस्त्र आईजीपी पौडेलले सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरूमा फायरफाइटिङ टीम स्ट्यानवाई राख्न र आगलागी जस्ता दुर्घटना नदोहोरिने गरी सतर्कता अपनाउँदै जिम्मेवारी ईलाकामा २४सैँ घण्टा अपरेशनल तत्परता कायम राख्न युनिट कमाण्डरहरूलाई निर्देशन दिए ।

यसअघि विभागीय प्रमुखहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेलले कमाण्डमा जान लागेका अधिकृतहरूलाई त्रुटिरहित ढंगबाट सीमा सुरक्षा, अपरेसनल तथा प्रशासनिक कामकारवाही गर्न निर्देशन दिए ।