काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले शनिबार सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको घरमा पुगी उनका परिवारसँग भेटघाट गरेका छन् ।
भेटघाटको क्रममा आईजीपी पौडेलले सहिद परिवारका सदस्यहरूको सुखदु:खमा संगठनको सदैव साथ र सहयोग रहने उल्लेख गर्दै भोलिका दिनमा उनीहरूको सदस्यमा आइपर्ने हरेक समस्या समाधानका लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपालको युनिटमा सम्पर्क गरी सहयोग लिन सहिद परिवारका सदस्यहरूलाई सुझाव दिए ।
उनले सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरूले समेत नजिकै रहेका सहिद परिवारका सदस्यहरूसँग समय–समयमा सम्पर्क गरी उनीहरूका गुनासो तथा समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
वीरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको रगत र पसिनाले गर्दा संगठन आज यो अवस्थामा आई पुगेको उल्लेख गर्दै आईजीपी पौडेलले भने, ‘हाम्रा परिवारको सदस्यले कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गरेपनि संगठनले हाम्रो लागि काम गर्नेछ भन्ने भावना राख्नुहोला ।’
सोही क्रममा सहिद परिवारका सदस्यहरूले पनि आफुलाई परेको पीरमर्कामा संगठनको सदैव साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सव तथा बाहिनी मातहत कार्यालयहरूको अनुगमनको क्रममा आईजीपी पौडेलले सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको परिवारजनसँग भेटघाट गरेका हुन् ।
सशस्त्र प्रहरी सहायक हवल्दार स्व. असिम श्रेष्ठको तत्कालीन माओवादी विद्रोहीहरूको भिडन्तमा बहादुरीपूर्वक लड्दा लड्दै अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा २०५९ भदौ २४ गते वीरगति प्राप्त भएको थियो ।
यसैबिच, आईजीपी पौडेलको प्रमुख आतिथ्यमा शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोही अवसरमा महानिरीक्षक पौडेलले बाहिनी तथा बाहिनी मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा सुरक्षा, राजस्व संकलन लगायत विपद् व्यवस्थापनमा समेत अझ प्रभावकारी रुपमा परिचालन हुन दिर्नेशन दिए ।
उनले मनसुनको समय नसकिएको कारण विपद्मा परेका आमनागरिकहरूको उद्धार र राहतमा तत्काल परिचालन हुनसक्ने गरी विपद् उद्धारका आवश्यक सामग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिए ।
आईजीपी पौडेलले आपतविपतमा परेका आमनागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले एउटा भरोसा योग्य संगठनको रूपमा स्थापित भई राष्ट्र र संगठनले लिएको लक्ष्य अनुरूपको कार्य गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कमाण्डरहरूले दण्द र पुरस्कारको नीतिलाई अझै कडाइका साथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा वार्षिकोत्सवमा अवसरमा सञ्चालन गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टीम, वर्षभर उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पुर्याउने विभिन्न संघसस्था तथा महानुभावहरूलाई समेत कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।




प्रतिक्रिया