काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर बस्ने होइन, आफ्नो जिम्मेवारी र परिस्थितिको गाम्भीर्यता बुझी तत्काल परिचालन हुन निर्देशन दिएका छन् ।
शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरको ९औँ वार्षिकोत्सवको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिए ।
उनले एक्लो प्रयासबाट मात्रै विपद्लाई पूर्ण व्यवस्थापन गर्न नसकिने हुँदा प्रभावकारी समन्वय र सहकार्य नै विपद् व्यवस्थापनको प्रमुख आधार भएको उल्लेख गर्दै प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्यका साथ विपद् व्यवस्थापनमा थप सक्रिय भई परिचालन हुनुपर्नेमा जोड दिए ।
सशस्त्र आईजीपी पौडेलले विपद् व्यवस्थापन, राजमार्गको सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण लगायत आन्तरिक सुरक्षाका विभिन्न घटनाहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुहुँदै कार्यक्षेत्रमा खटिने हरेक राष्ट्रसेवकहरु अझ व्यावसायिक भई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र परिस्थिती अनुरुपको निर्णय क्षमता राखी तत्काल परिचालन हुनुपर्ने बताए ।
उने पछिल्लो समय देशका विभिन्न स्थानहरूमा भएका जातीय, धार्मिक तथा साम्प्रादायिक किसिमका विवादका विषयहरुले सुरक्षामा थप चुनौती थपिएको बताउँदै यस्ता कार्यमा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरूले मानवअधिकारको पूर्ण पालना गर्दै कानूनी दायराभित्र रही न्यायोचित तरिकाले मात्र बल प्रयोग गर्नुकासाथै सुरक्षा परिचालन र कारवाहीमा समेत सशस्त्र प्रहरी बल नेपालको कुनै कमीकमजोरी नहुने तरिकाले परिचालन हुन निर्देशन दिए । व्यक्तिगत आग्रह पूर्वाग्रहलाई थाँती राख्दै कमाण्डर तथा नेतृत्व वर्गसँग हातेमालो गरी संगठन विकासमा एउटै लक्ष्यकासाथ अघि बढ्न र आफ्नो कर्तव्य पथमा अविचलित भई लागि रहन निर्देशन दिँदै महानिरीक्षक पौडेलले भने, ‘म होइन, हामी भन्ने मान्यताका साथ आफ्नो जिम्मेवारी बोध गरी परिचालित भएमा बृत्तिविकासका अवसरहरू आफैँ सिर्जना हुँदै जान्छन् ।’
उनले सीमावासीसँगको सुमधुर सम्बन्ध नै सीमा सुरक्षाको महत्वपूर्ण कडी भएको हुनाले उनीहरूको विश्वास, सहयोग र सहभागितालाई सीमा सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी रुपमा जोड्नुपर्ने बताउँदै सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई थप सुदृढ गरी अन्य कार्यक्रमहरू समेत सञ्चालन गर्नुपर्ने बताए ।
आईजीपी पौडेलले आपतविपतमा परेका आमनागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालले एउटा भरोसा योग्य संगठनको रुपमा स्थापित भई राष्ट्र र संगठनले लिएको लक्ष्य अनुरुपको कार्य गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कमाण्डरहरुले दण्द र पुरस्कारको नीतिलाई अझै कडाइकासाथ लागू गरी कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिए ।




प्रतिक्रिया