पोखरा – पोखराको फेवातालमा हावाहुरी र वर्षाका कारण डुङ्गासहित फसेका ७ जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १ पुरुषको शव गोताखोरले फेला पारेको छ ।
सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा अचानक हावाहुरी र पानी परेपछि चितवनबाट घुम्न आएका ७ जना आन्तरिक पर्यटक चढेको प्याडल बोट डुङ्गा बाँध्ने डोरीको जालोमा परेर तालमै अलपत्र परेको थियो ।
घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट उद्धार टोली परिचालन गरिएको थियो । टोलीले तालमा पुगेर सातै जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यसैगरी, पोखरा महानगरपालिका–३२ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४, खसीबजार बस्ने २५ वर्षीय नरेश विकको शव फेला परेको छ ।
असोज १७ गते साँझ पौडी खेल्ने क्रममा विक बेपत्ता भएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ कालिका गण कास्कीबाट गोताखोरसहित विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त टोली परिचालन गरिएको थियो ।
परिचालित टोलीले खोजी गर्ने क्रममा बेगनास तालको करिब २५ फिट गहिराइबाट विकको शव फेला पारेको हो । शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार फेवातालमा जल दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै खोज तथा उद्धारका लागि रेस्क्यु टावरमार्फत टोली परिचालन हुँदै आएको छ । पछिल्लो समय उद्धार क्षमता बढाउन फेवातालमा उच्च क्षमताको जेटस्की उद्धार बोटसमेत सञ्चालनमा ल्याइएको छ ।




प्रतिक्रिया