गृहसचिव राई पुगे सशस्त्र प्रहरीकाे हेडक्वार्टर, यस्ताे दिए निर्देशन


काठमाडौं–गृहसचिव प्रेमकुमार राईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरी राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिएका छन्।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसअवसरमा गृहसचिव राईसमक्ष सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाही, जनशक्ति, साधनश्रोत, परिचालन, शान्ति सुरक्षाको अवस्था तथा सुरक्षा चुनौती, संगठनले हासिल गरेका उपलब्धी लगायत विविध विषयहरुमा विस्तृतरुपमा जानकारी गराएका थिए।

गृहसचिव राईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण पश्चात सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरुलाई निर्देशन सम्बोधन गरे।  सो अवसरमा उनले स्थापनाको उद्देश्य पुरा गर्ने दिशामा यस संगठन सफल ठहरिएको चर्चा गर्दै प्राप्त कार्यादेशलाई प्रभावकारी रुपले कार्यान्वन गर्दै आइरहेको भन्दै संगठनको प्रशंसा समेत गरे।

अन्य सुरक्षा निकायको साथसाथै सशस्त्र प्रहरी बलको भूमिका पनि मुलुकको शान्ति सुरक्षा कार्यमा सधैं महत्वपूर्ण रहने उनले चर्चा गरे।

गृहसचिव राईले मुलुकमा शान्ति सुरक्षा अमन चयन कायम गर्नेदेखि, विपद व्यवस्थापन, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार नियन्त्रण, मानव बेचबिखन नियन्त्रण लगायतका आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताए।

वृत्तिविकास, तालिम, सेवासुविधा, स्रोतसाधन र जनशक्ति अभिबृद्धि लगायतका विविध विषयमा गृहमन्त्रालयको समन्वय एवं सहयोगात्मक भूमिका रहने उल्लेख गर्दै उनलेसंगठनका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढ्ने चर्चा गरे।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा सरकारले सुम्पेको हरेक जिम्मेवारीहरुलाई कुशलतापूर्वक पुरागर्दै सशस्त्र प्रहरी बल नेपाल जनमानसमा स्थापित हुन सफल भएको चर्चा उनले गरे।

मुलुक र मुलुकवासीको सेवा र सुरक्षाको लागि संगठनको सम्पूर्ण जनशक्ति अहोरात्र खटिरहेको राइले बताए।

उनले सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा कार्यको साथसाथै विपद व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, औद्योेगिक क्षेत्र, सीमा तथा भन्सार नाका, विशिष्ट व्यक्ति एवं महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा लगायत राज्य प्रदत्त जिम्मेवारी पुरागर्ने शिलशिलामा कार्यक्षेत्रमा उच्चस्तरबाट परिचालित भई सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय एवं सहकार्य गर्दै प्रभावकारी ढंगबाट कार्य गरिरहेको उल्लेख गरे।

सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकास एवं बलका अधिकृत जवानहरुलाई उत्प्रेरणा गर्ने खालको कल्याणकारी कार्ययोजना तर्जुमा गर्नेतर्फ संगठन लागिपरेको चर्चा गर्दै रार्इले सशस्त्र प्रहरी महानिरीक्षक खनालले सरुवा, बढुवा, तालिम लगायतका अवसरहरु न्यायोचित ढंगले प्रदान गरिने बताए।

कार्यक्रममा गृहमन्त्रालय तथा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरु एवं विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement