उत्कृष्ट बाहिनी अवार्ड डीआईजी अर्याल र हवल्दार खाम्चा वर्ष जवान घोषित


काठमाडौं – सशस्त्र प्रहरी बलले यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड नम्बर २ छिन्नमस्ता बाहिनीलाई प्रदान गर्ने भएको छ ।

बिहीबार हुन लागेको १९ औं सशस्त्र प्रहरी दिवसको वार्षिकोत्सवका अवसरमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई उक्त अवार्ड प्रदान गर्ने निर्णय भएको हो ।

सशस्त्र प्रहरीले गतवर्षदेखि उत्कृष्ट बाहिनी अवार्ड दिन थालेको हो । बाहिनी कार्यालयमध्ये उत्कृष्ट काम गर्नेलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ । सशस्त्रमा सात प्रदेशमा गरी सात र उपत्यका बाहिनी गरी आठ वटा बाहिनी कार्यालय रहेको छ ।

गतवर्ष सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएको थियो ।

यसैगरी, सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हवल्दार ललितबहादुर खाम्चालाई यो वर्षको वर्ष जवान छनोट गरेको छ ।

सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको योगदानको उच्च कदर गर्दै खाम्चालाई वर्ष जवान (२०७६) घोषणा गरेको हो । उनलाई पनि बिहीबार हुन गइरहेको वार्षिकोत्सव कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबाट वर्ष जवानको ट्याग प्रदान गरिने भएको छ ।

सशस्त्र प्रहरी बलले वर्षभरी उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबल्दारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ ।

यसैगरी, वर्ष जवान घोषणा भएका कर्मचारीका दुई सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाइएको छ ।

सुर्खेतको लेकबेशी नगरपालिका ९ दमार घर भएका सशस्त्र प्रहरी सहायक हवल्दार खाम्चाले गत १७ कात्तिकमा बझाङ बुंगल नगरपालिका–१ दारिमगाडस्थित कालंगा हाइड्रोपावरको निर्माणाधीन सुरुङभित्र फसेका चार जनाको शव ज्यानको बाजी लगाएर निकालेका थिए । उनले विभिन्न नदी र तालमा डुबेका ६५ जनाको शव निकालिसकेका छन् । यसैगरी ४० जनाको जीवितै उद्धार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement