काठमाण्डु – संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको ११औं डफ्फाको टोली वैशाख २४ गते राति स्वदेश फिर्ता भएको छ ।
स्वदेश फिर्ता भएको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले बैशाख २५ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा स्वागत गरे ।
अतिरिक्त महानिरीक्षक दाहालले द्वन्दग्रस्त मुलुकमा खटिएर शान्ति स्थापना गर्ने कार्यमा खटिएर आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई दिँदै संगठनमा आवद्ध रही संयुक्त राष्ट्रसंघीय मिसनमा सेवा गर्न पाउनु अवसर रहेको तथा मिसनमा कार्यरत रहँदा आर्जन गरेको ज्ञान र अनुभवलाई स्वदेशमा समेत हौसला र उत्साहका साथ लागू गर्नुपर्ने बताए ।
उनले शान्ति मिसनमा रहँदा सशस्त्र प्रहरी कर्मचारीहरूले देखाएको अनुशासन, आचरण, कर्तव्य परायणता र व्यावसायिकताले अन्तर्राष्ट्रिय समुदायमा हाम्रो संगठन र राष्ट्रको छवि उज्वल रहेको बताउँदै स्वदेशमा फर्किएपछि समेत संगठनबाट देश र जनताले अपेक्षा गरे अनुरूपको सेवा प्रवाह गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताए ।
स्वदेश फिर्ता भएको टोलीमा १६२ जना सशस्त्र प्रहरी कर्मचारी छन् । टोलीको बदलीको लागि १२औं डफ्फाको टोली बैशाख २३ गते राती त्यसतर्फ प्रस्थान गरेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ, सिनियर तथा जुनियर अधिकृतहरूका साथै विल्लादार जवानको समेत उपस्थिति थियो ।

प्रतिक्रिया