काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का सल्लाहकार कुमार ब्यञ्जनकार (बेन) र विचौलिया इनाम सापकोटाबीच उनी पक्राउ पर्नुअघि एकपटक मात्रै संवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
व्यापारी दीपक भट्टलाई छुटाउन सापकोटाले सबै ‘डिजाइन’ मिलाइसकेको सूचना पाएपछि बेनले उनलाई सम्पर्क गरेको अनुसन्धानबाट खुलेको हो।
प्रहरी अनुसन्धानअनुसार सापकोटाले प्रधानमन्त्री शाह र उनका सल्लाहकार बेनको नाम दुरुपयोग गरेको देखिएको छ। सर्वोच्च अदालतबाट भट्टलाई रिहा गराउन विचौलिया सापकोटाले पूर्वप्रधानन्यायाधीश, सत्तारुढ दलका केही नेता तथा बहालवाला न्यायाधीशसँग ‘सेटिङ’ मिलाएको अनुसन्धानमा खुलेको स्रोतको दाबी छ।
यो सूचना न्यूयोर्कमा रहेका बेनसम्म पुगेपछि उनले महान्यायाधिवक्तालाई समेत फोन गरेको खुलेको छ। त्यसपछि बेनले न्यूयोर्कमै रहेका बेला सापकोटालाई आफू र प्रधानमन्त्रीलाई चिनेको हो भन्दै एसएमएस पठाएका थिए।
जवाफमा सापकोटाले आफूले बेनलाई नचिनेको र आफू उमेश श्रेष्ठको विद्यार्थी भएको बताएका थिए। सापकोटा अक्टोबर २ मा पक्राउ परेका थिए। तर, प्रहरी अनुसन्धानमा बेनले उनलाई सेप्टेम्बर २४ मै एसएमएस पठाएको देखिएको छ। उक्त सन्देश पठाउनुअघि उनीहरूबीच कुनै सम्पर्क नभएको पनि अनुसन्धानबाट खुलेको स्रोतको दाबी छ।
यसैबीच, विभिन्न सञ्चारमाध्यममा सापकोटाको मोबाइल बेनले लगेको समाचार प्रकाशित भइरहेका छन्। तर, स्रोतका अनुसार सापकोटाको मोबाइल अहिले पनि प्रहरीको विधिविज्ञान प्रयोगशालामै रहेको छ।
यसले सापकोटा पक्राउ पर्नुअघि भएको संवाद र मोबाइल नियन्त्रणमा रहेको विषयलाई थप चासोको विषय बनाएको छ।


प्रतिक्रिया