काठमाण्डु – उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।
शुक्रबारदेखि सुरु भएको छठ पर्व सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको हो । सोमबार बिहानै व्रतालुहरुले छठघाट पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिवसीय यस अनुष्ठान अन्तर्गत आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको हो।
छठमा ढिकी तथा जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ एवं चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्ठान्न परिकार, माटोको भाँडोमा जमाइएको दही, उखु, मौसमी फलफूल र कोसीया–कुरबार जस्ता सामग्री सूर्यलाई अर्घ्यका रूपमा चढाउने प्रचलन छ।
छठ पर्वको अवसरमा सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।


प्रतिक्रिया