प्रधानमन्त्रीको निर्देशनपछि सशस्त्रका एआईजीको पदावधी थपियो


काठमाण्डु– सशस्त्र प्रहरीका दुई जना एआईजीको पदावधी थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्रका एआईजीहरु पुष्पराम केसी र रामशरण पौडेलको पदावधी एक वर्ष थप गरेको हो ।

एआईजीको पदावधी थप नगर्न सशस्त्रका प्रमुख शैलेन्द्र खनाल स्वयंम् लविङमा थिए । दुवै एआईजीको पदावधी थप नभएको भए उनिहरु यही बैशाख २० मा अवकासमा जांदै थिए ।

खनालले उनिहरुको पदावधी थप गर्न नहुने भन्दै गृहमन्त्री रामबहादुर थापा, मुख्यसचिव शंकर वैरागीदेखी सवै शक्ति केन्द्र पुगिसकेका थिए । उनले उनिहरुको पदावधी थप भए हालका डिआईजी मन्दिप श्रेष्ठ र खड्क राई डिआईजीबाटै अवकासमा जान्छन भन्दै अख्तियारका प्रमुख प्रेम राई कहां समेत पुगेको स्रोतको दावी छ ।

आफ्नै ब्याचका एआईजीको नियममा भएको पदावधी थपको निर्णय गर्नुपर्नेमा खनाल नगर्न लविंगमा लागेको सशस्त्र भित्रै धेरैले रुचाएका थिएनन । उनले केसीलाई आफ्नो प्रतिस्पर्धी भएका कारण पदावधी थप नगर्ने चाहना राखेको बताइन्छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापासंग एआईजीको पदावधी थप गर्ने विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री र गृहमन्त्रीको छलफलपछि गृहमन्त्री थापाले गृहसचिव महेश्वर न्यौपानेलाई प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए । त्यसपछि गृहसचिव न्यौपानेले सशस्त्र प्रमुख खनाललाई फोन गरेर पदावधी थपको प्रस्ताव ल्याउन भनेका थिए । खनालले प्रस्ताव ल्याउन आनाकानी मात्र गरेनन प्रधानमन्त्रीको चाहनामा पदावधी थप गर्न खोजेको हो की होईन भनेर प्रधानमन्त्री निकटस्थहरुलाई बुझ्ने समेत प्रयास गरेका थिए ।

प्रधानमन्त्रीको निर्देशनमा पदावधी थप हुन लागेको जानकारी पाएपछि खनालले दिउसो ३ बजे प्रस्ताव गृह पठाएका थिए । त्यसपछि गृहमन्त्रीले आजै प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गरेका थिए ।

सशस्त्रमा एआईजीको पदावधी ४ वर्षको हुने गर्छ । एआईजीको पदावधी ४ वर्ष पुरा भएपछि सशस्त्र प्रहरीको नियमावली नियम ६५ को २ अनुसार १ वर्ष थप्न गर्न सक्ने व्यवस्था नियममा छ । यसअघि सशस्त्रका दुई डिआईजीहरु मन्दिप श्रेष्ठ र खड्क राईको समेत पदावधी थप भएको थियो ।

एआईजीमा केसीको पदावधी थप भएसंगै थोरै समयको लागी उनको संगठन प्रमुख हुने बाटो खुलेको छ । यदी नियम परिवर्तन भएको खण्डमा र खनालको विकल्प खोजी भयो भने उनि त्यो भन्दा बढी समय संगठनको प्रमुख बन्नेछन् । खनाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सिफारीसमा संगठन प्रमुख भएका हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement