सशस्त्रमा एआईजीको सरुवा : कार्यमा केसी र प्रशासनमा पौडेललाई जिम्मेवारी


काठमाण्डु– सशस्त्र प्रहरीका एआईजीहरुको सरुवा भएको छ । सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनालले एआईजीद्धय पुष्पराम केसी र रामशरण पौडेलको सरुवाको प्रस्ताव गृहमन्त्रालय पठाएका थिए ।

मन्त्रिपरिषदको बैठकले हाल मानवस्रोत विभागमा रहेका केसीको सीमा तथा कार्य विभाग र पौडेलको मानवस्रोत विभागमा सरुवा गरेको पत्र शुक्रवार गृहमन्त्रालय पुगेको स्रोतले जनाएको छ । यसअघि गत जेठ २८ मा मानवस्रोतमा रहेका पौडेलको कार्यविभागमा र एकेडेमीमा रहेका केसीको मानवस्रोत विभागमा सरुवा भएको थियो ।

आईजिपी खनालले यसअघि एआईजीद्धय केसी र पौडेलको एआईजीको पदावधी नथप्न प्रयास गरेपनि उनि सफल भने भएका थिएनन् । सशस्त्रका दुवै एआईजी उनकै ब्याचका अधिकारी हुन । खनाल र केसीको आईजिपी हुंदा प्रतिस्पर्धा भएको थियो । त्यसबेलादेखी नै खनाल र केसीको सम्बन्ध सुमधुर छैन ।

सशस्त्र प्रहरी प्रमुख नै मातहतका अधिकारीहरुको पदावधी नथप्न लविङमा लागेपछि संगठनभित्र असन्तुष्टि बढेको छ । खनालको इच्छा विपरित सशस्त्रमा दुई एआईजीको पदावधी थप भएको थियो । सशस्त्रभित्र पछिल्लो समय चरम गुटबन्दी बढेको गुनासो छ ।

यता आईजिपी खनालले डिआईजीको सरुवा पनि अघि बढाएका छन् । डिआईजीहरु गणेश ठाडामगर, कमल गिरी र दुर्गा भट्टराईलगायतको सरुवाको तयारी भएको छ ।
सशस्त्रमा १ नम्बर,बाग्मती र लुम्बिनी प्रदेशका प्रमुखको एक वर्ष अवधी पुगिसकेको छ । त्यसैगरी सुदुरपश्चिम प्रदेशका प्रमुख डिआईजी प्रविण श्रेष्ठले पदावधी थप नभएपछि उनले अवकास पाइसकेका छन । श्रेष्ठको ठाउंमा समेत डिआईजीको सरुवाको तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement