विश्वशान्ति स्थापनामा सशस्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको गृहमन्त्रीको दावी


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल नेपाल स्थापनाको छोटो समयमै एउटा महत्वपूर्ण सुरक्षा संगठनको रुपमा स्थापित भएको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दुई दिनसम्म संचालन हुने ‘ईकाई प्रमुख सम्मेलन २०७५’को आईतबार उद्घाटन गर्दै मन्त्री थापाले देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरु बीच आपसमा गहन छलफल र बिश्लेषण गरिने यस्ता सम्मेलनबाट महत्वपूर्ण निष्कर्षमा पुग्न सकिने उल्लेख गरे ।

गृहमन्त्री थापाले संगठनलाई प्राप्त जिम्मेवारीहरु पूरा गर्ने क्रममा विगतमा सम्पादन भएका कामकारवाहीहरुको सम्मेलनमा सूक्ष्मढंगले समिक्षा हुने हुँदा आगामी दिनमा अझै परिस्कृत रुपमा अगाडी बढ्न र संगठनको सुदृढीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भविष्यमा आउन सक्ने सुरक्षा चुनौतीहरुको सामना गर्न समेत सहज हुने विश्वास व्यक्त गरे ।

नेकपा सचिवालय सदस्य समेत रहेका मन्त्री थापाले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा संगठन खरो रुपमा उत्रेको बताए ।

उनले अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वशान्ति स्थापनामा सशस्त्र प्रहरी बल नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement